९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गुल्मीमा यस्तो विजोग, बन्दाबन्दै भत्कियो पुल



गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिकामा बन्दै गरेको पुल भत्किएको छ। शनिबारदेखि ढलान थालिएको पुल आइतबार ढलान गर्दागर्दै भत्किएको हो।
नगरपालिकाको बडागाउँ र वामीटक्सार बजार जोड्ने पुल भत्किएको हो । पुल भत्किदा ठेकदारसहित पाँचजना मजदुर घाइते भएका छन्। प्रदेश ५ सरकारले विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालय गुल्मीमार्फत् उक्त पुल निर्माण गर्न लागिएको हो।
५८ मिटर लामो पुलकोबीच भागमा पिलर उठाइएको छैन। ओभरलोडका कारण पुल भत्किएको हुन सक्ने मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। पुल निर्माणका लागि करिब पाँच करोड बजेट विनियोजन गरिएको साविकको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर पारस पन्थीले जानकारी दिए।
उनका अनुसार उक्त पुल बीचमा पिलर राख्न नपर्ने प्रिटेस्ट डिजाइनको हो। दरमखोलामा पानीको सतह बढेर पुलमुनी राखिएको टेका भासिएकाले पुल भत्किएको हुन सक्ने पन्थीको अनुमान छ। पुल निर्माणको जिम्मा वाईपी जयबुद्ध निर्माण कम्पनी काठमाडौंले लिएको छ।
पन्थीका अनुसार अब पुन डिजाइन गरेर पुल निर्माण हुनेछ। अघिल्लो वर्षनै निर्माण भइसक्नु पर्ने उक्त पुल डिजाइन फेल हुदा पुनस् डिजाइजन गरिएको थियो।

प्रकाशित मिति : २ बैशाख २०७६ सोमबार ००:००  २ : ४८ बजे