१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

बाँकेका ११३ गाउँ बाढीको जोखिममा



बाँके । 

बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी पूर्वतयारी लगायत सचेतना दिनुका साथै समस्याको बेला खाद्यान्नको व्यवस्था गरिसकेका छन् । विसं २०७१ पछि बाढीबाट सबैभन्दा बढी क्षति व्यहोरेको राप्तीसोनारी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि रु २ करोड विनियोजन गरेको छ ।

सबै स्थानीय तहमा विपद् व्यवस्थापन कोष स्थापना गरिसकिएको छ । राप्ती नदीमा भारतले बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध तथा सडक जस्तो बाँधले गर्दा ठूलो क्षति व्यहोर्दै आएको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाले पनि विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बजेट विनियोजन गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बजेट विनियोजन गरेको जानकारी दिए । सधैं राप्तीमा बाढी आउँदा उद्धारमा समस्या पर्ने भएपछि यस वर्ष राप्तीपारि उद्धार टोलीका साथै खाद्यान्न तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७६ मंगलबार ००:००  ६ : ४९ बजे