८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

गौहत्या गर्नेलाई कडा कारबाही गर्न महासंघको माग 



काठमाडौं ।

सुर्खेतको कटकुवा जंगलमा भएको सामूहिक गौहत्याको घटनाप्रति विश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघले गौहत्या गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। राष्ट्रिय जनावर गाईलाई हाम्रो पूर्वीय दर्शन र हिन्दू धर्म संस्कृतिमा आमासरह मान्ने र पूजा गर्ने परम्परा रहिआएको छ। गौहत्या गर्नु महाअपराध हो, यस्तो गर्न पाइँदैन, गर्नेलाई कानुनबमोजिम कडा भन्दा कडा दण्डित गरिनुपर्दछ। महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। देशका विभिन्न ठाउँमा पर्याप्त गौशालाहरु नहुनु, छाडा छोडिएका चौपायाहरुको उचित व्यवस्थापनका निम्ति राज्यले उदासीनता देखाउनुले पनि गौहत्याले अझै प्रश्रय पाएको छ महासचिव अस्मिता भण्डारीको ठहर छ।  संसारको एकमात्र हिन्दु अधिराज्यको पहिचान भएको हाम्रो देशलाई विदेशीको इसारामा परेर धर्मनिरपेक्ष गरिएको पनि महासंघले आरोप लगाएको छ। राष्ट्रिय जनावर भएकाले पनि गाईको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको र मुलुकका विभिन्न भागमा उचित गौशालाहरुको व्यवस्थापनका निम्ति पनि नेपाल सरकारले ध्यान पुर्‍याउनुपर्नेमा महासंघले जोड दिएको छ।

प्रकाशित मिति : १४ भदौ २०७६ शनिबार ००:००  १ : ०० बजे