काठमाडौं ।
निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु गरेको छ । निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचारलगायतका क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिता शुक्रबारबाट लागू गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको पूर्ण पालना गर्न सरोकारवाला सबै निकायलाई आह्वान गरेका छन् । आचारसंहिता पालना नभए निर्वाचन ऐन अनुसार कडा कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचनका मतदाता नामावली अन्तिम रुप दिई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाई सकिएको जनाएको छ । आयोगका प्रवक्ता श्रेष्ठले निर्वाचन अधिकृतहरुको नियुक्तीको काम सम्पन्न भई आगामी कार्तिक १४ र १५ गते काठमाडौं, विराटनगर र नेपालगंजमा उनीहरुलाई अभिमूखिकरण तालिम दिने कार्ययोजना सार्वजनिक गरिएको जानकारी दिए । आयोगले उपनिर्वाचनका लागि मतदाता शिक्षासम्बन्धि सामग्रीहरुको छपाईको कामलाई तीव्रता दिएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आगामी कार्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ भने कार्तिक २७ गते स्थानीय तहका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गर्नेछन । आयोगले उपनिर्वाचनको प्रयोजनका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरुको व्यवस्थापनको काम भइरहेको जनाएको छ ।






प्रतिक्रिया