८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भीआईपी जुवाडेका सम्पत्ति छानबिन हुने



काठमाडौं ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले १० कात्तिकमा पक्राउ गरेका २५ जना जुवाडेको सम्पत्ति छानविन हुने भएको छ । तिहारमा सुरक्षा अपरेशनका क्रममा प्रहरीले काठमाडौं–३, पिपलमार्ग स्थित विक्रम गौतमको घरमा छापा मारेको थियो ।
त्यहाँबाट क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटासहित २५ जना जुवाडेलाई दुई करोड ४७ लाख रुपैयाँ नगद, बैंक अफ काठमाण्डुको ३ लाख रुपैयाँको चेक, ३२ वटा कौडा, ४ बुक तास सहित पक्राउ गरेको थियो ।
थुनामा रहेका बलेसहित ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम, मुक्ति लामा लगायतले जुवामा प्रयोग गरेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण विभागलाई पत्र काटेको स्रोतले बतायो ।
नियन्त्रणमा लिइएका माथि अब सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन गर्ने भएको हो । पत्रअनुसार विभागले छानविन थाल्ने तयारी गरेको जनाइएको छ । विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै जुवाडेहरु प्रहरी हिरासतबाट मुक्त भएमा आफूलाई जिम्मा लगाउन आग्रह गरेको छ ।
अनुसन्धानका लागि विभागले अनुसन्धान अधिकृत पनि तोकिसकेको जनाइएको छ । पक्राउ परेकामध्ये ११ जुवाडेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पनि दायर गरेका थिए । तर जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थप गरेसँगै रिटमा सर्वोच्चले सुनुवाइ गरेन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६ आइतबार ००:००  ३ : १४ बजे