मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले “एक शिक्षक एक ल्यापटप” कार्यक्रमअन्तर्गत २७ जना शिक्षकलाई ल्यापटप तथा १२ वटा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास कक्षाका लागि स्मार्ट टिभी वितरण गरेको छ।
शिक्षा सेवालाई थप प्रभावकारी, प्रविधिमैत्री तथा गुणस्तरीय बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठले शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण गर्दै प्रविधिको प्रयोगले शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले शिक्षामा गुणस्तर अभिवृद्धिलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने, आजको युग प्रविधिको युग हो। शिक्षक प्रविधिसँग जोडिए मात्रै विद्यार्थीलाई समयअनुकूल शिक्षा दिन सकिन्छ। ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमले शिक्षण कार्यलाई सहज, सिर्जनात्मक र प्रभावकारी बनाउनेछ। साथै बालविकास कक्षामा स्मार्ट टिभीको प्रयोगले बालबालिकाको सिकाइलाई थप आकर्षक र अन्तरक्रियात्मक बनाउनेछ।
उनले नगरपालिकाले आगामी दिनमा पनि शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै डिजिटल शिक्षण सामग्री, तालिम तथा पूर्वाधार विकासलाई निरन्तरता दिने बताए।
नगरपालिकाका शिक्षा शाखाका अनुसार वितरण गरिएका ल्यापटपले शिक्षकहरूलाई पाठयोजना तयारी, डिजिटल सामग्री निर्माण, अनलाइन स्रोतको उपयोग तथा विद्यालय व्यवस्थापनसम्बन्धी कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्यसैगरी बालविकास कक्षामा जडान गरिने स्मार्ट टिभीमार्फत दृश्य तथा श्रव्य सामग्री प्रयोग गरी बालबालिकाको प्रारम्भिक सिकाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नगरपालिकाको यस पहलले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।







प्रतिक्रिया