१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पोखरा प्रिमियर लिग– चितवन र विराटनगरबीच आज उपाधी भिडन्त



कास्की– पोखरा प्रिमियर लिग क्रिकेटको उपाधिका लागि आज चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हु्ँदैछ ।

पोखरा मैदानमा बिहान साढे ११ बजे हुने प्रतियोगितामा दुवै टिम पहिलो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । चितवन अघिल्लो संस्करणमा पोखरा पल्टनसँग पराजित भएपछि उपाधि जित्न असफल भएको थियो भने विराटनगर पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

चितवन जारी प्रतियोगितामा अपराजित रहँदै सिधै फाइनल प्रवेश गर्दा विराटनगर भने एलिमिनेटर राउण्डमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । प्रतियोगिताको अघिल्लो दिन पोखरामा चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरीले प्रि म्याच कन्फ्रेन्समा कुरा गर्दै लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् ।

चितवनका कप्तान पारसले अहिलेसम्म राम्रो प्रदर्शन हुँदै आएको र अब एक पटक च्याम्पियन बनाउनका लागि शनिबार पनि टिमबाट आफू खेलाडीबाट त्यस्तै प्रदर्शनको अपेक्षा रहेको बताए ।

सबै खेलमा विजयी भए पनि टिममा केही कमी कमजोरीहरु रहेको स्वीकार गर्दै कप्तान खड्काले त्यसलाई सुधार गरेर मैदान उत्रने पनि उल्लेख गरे । गत संस्करणमा फाइनलमा पराजित भएको प्रसंगमा कुरा गर्दै कप्तान खड्काले एक वर्षमा धेरै कुराहरु भइसकेकाले त्यतातर्फ आफूले नसोचेको जवाफ दिए । उनले दुवै टिम उत्कृष्ट भएकाले नै फाइनलमा पुगेको बताउँदै फाइनल पनि झनै उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

पहिलो पटक कप्तानी गरेका विराटनरका प्रदीप ऐरीले आफू फाइनलका लागि उत्साहित रहेको बताएका छन् । टिमका सबै खेलाडीले राम्रो खेलिरहेको बताउँदै फाइनलमा गल्तीहरु कमभन्दा कम गर्ने रणनीतिका साथ मैदान उत्रने पनि बताए ।

प्रकाशित मिति : १२ पुस २०७६ शनिबार ००:००  ६ : ५५ बजे