काठमाडौं ।
अभद्र व्यवहार अभियोगमा चार दिनको म्याद थपेको भोलिपल्टै गायिका आस्था राउत रिहा भएकी छन् । गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको हो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार राउत चार हजार धरौटी बुझाएर रिहा भइसकेकी छन् । राउतविरुद्ध त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलमा सुरक्षा चेकजाँचका लागि खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । गत माघ १ गते झापा हुँदै सिक्किम जाने क्रममा आस्था र रमिताबीच त्रिभुवन विमानस्थल सुरक्षा चेकजाँचमै विवाद भएको थियो ।
आफ्नो ज्याकेटसमेत खोल्न लगाएर तँ भनेको भन्दै आस्थाले त्यसलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रहरीलाई डन्ठे, फोहरका किरा जस्ता शब्द प्रयोग गरेर गाली गरेकी थिइन् । माघ ५ गते जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि आस्था आइतवार प्रहरी नियन्त्रणमा परेकी थिइन् । परिवारका सदस्यसहित पुगेकी उनलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको थियो । अभद्र व्यवहार सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकुले जिल्ला प्रशासन कार्यालयबाट चार दिनको म्याद थपेको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय पुगेकी थिइन् । आस्था सांगीतिक कार्यक्रममा सहभागी हुन करिब २ साता सिक्किम र दार्जिलिङ पुगेर फर्किएपछि प्रहरी नियन्त्रणमा परेकी थिइन् । प्रहरीविरुद्ध गाली गरेलगत्तै उनले गल्ती भएको स्वीकार्दै माफी मागे पनि प्रहरीले मुद्दा अघि बढाएको थियो ।
विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो । आस्थाले विमानस्थलमा आफूमाथि दुर्व्यवहार भएको माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन् । त्यसको एक दिनपछि उनले भिडियो हटाएकी थिइन् । सुरक्षा जाँचका क्रममा गायिका आस्थाको महिला प्रहरी रमिता श्रेष्ठसँग विवाद भएको थियो ।







प्रतिक्रिया