९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

खुसी छु, महरा सरले न्याय पाउनुभयोः रोशनी शाही



काठमाण्डौँ

पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो। आरोप लागेलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु’, नयाँ पत्रिकासँगको फोन सम्पर्कमा शाहीले भनिन्, ‘जसले दुख दिन खोजेका थिए, उनीहरु पराजित भएका छन् ।’

‘तपाईंकै कारण उहाँले दुख पाउनु भएको होइन र रु’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले होइन, राज्यले हो उहाँलाई दुख दिन खोजेको । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् ।’

रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् । ‘अस्वस्थ थिएँ, मलाई नै थाहा छैन कि मैले कसरी त्यो कुरा बोलेँ, पछि मैले होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मुद्दा दर्ता गरियो’ उनले भनिन्, ‘षडयन्त्र यसैमा थियो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ४ : ५६ बजे