७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बुद्धभूमिमा प्रजनन स्वास्थ्य, खोप तथा पोषणबारे अन्तरक्रिया



कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, खोप तथा पोषण सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रजनन स्वास्थ्यको महत्व, नेपालमा यसको वर्तमान अवस्था, खोप तथा पोषणको अवस्था र चुनौतीबारे छलफल गरिएको थियो।

अन्तरक्रियाका क्रममा वक्ताहरूले खोप, पोषण तथा प्रजनन स्वास्थ्यजस्ता महत्वपूर्ण विषयमा अझै पनि समाजमा पर्याप्त सकारात्मक सञ्चार र जनचेतना फैलिन नसकेको उल्लेख गर्दै सबै निकायले यस विषयमा निरन्तर छलफल, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा प्रस्तुतीकरण दिँदै महेन्द्रकोट स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत हरिकुमार श्रेष्ठले प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, खोप र पोषण मानव स्वास्थ्यका आधारभूत तथा महत्वपूर्ण विषय भए पनि यसबारेको जनचेतना अझै पर्याप्त नभएको बताउनुभयो। उहाँले समुदायस्तरसम्म प्रभावकारी सूचना र सन्देश पुर्‍याउन स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिकहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

उहाँले सबै पक्ष सचेत र जिम्मेवार बन्न सकेमा स्वास्थ्य तथा पोषणसँग सम्बन्धित धेरै समस्याहरू न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नगरपालिकाको स्वास्थ्य शाखाका गोकर्ण अर्यालले गर्नुभएको थियो।

प्रकाशित मिति : ७ असार २०८३ आइतबार ००:००  १० : ११ बजे