७ असार २०८३, आइतबार | Sun Jun 21 2026

च्याम्पियन्स लिगः बार्यन म्युनिखसामु चेल्सी निरिह, ३–० को हार



एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबलको लिडर बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलमा पनि राम्रो प्रदर्शन जारी राखेको छ । नकआउट चरणको पहिलो खेलमा बार्यन म्युनिखले प्रभावशाली जित दर्ता गरेको छ ।अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले इंग्लिस क्लब चेल्सीलाई ३–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बार्यनका लागि सर्ज ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । पहिलो हाफमा गोलरहित रहेको खेलमा ग्नाब्रीले ५१ र ५४ औँ मिनेटमा गोल गरी बार्यनलाई बलियो अवस्थामा लगे । लेवान्डोस्कीले ७६ औँ मिनेटमा गोल गरेपछि बार्यनले ३–० को जित निश्चित गरेको हो ।८३ औँ मिनेटमा एलोन्सो सीधै रातो कार्ड पाएर मैदानबाटबाहिरिएपछि चेल्सी अन्तिमको केही मिनेट १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो मार्च १८ मा बार्यनको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ०३ बजे