५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

सरकार झन् कठोरःआज साँझदेखि विदेशका नेपाली पनि आउन बन्द



काठमाडौँ । सरकारले कोभिड १९ संक्रमण बाट बच्न विदेशमा रहेका नेपालीलाई शुक्रबारदेखि आगामी २५ दिन स्वदेश फर्कन नदिने आफ्नो निर्णयको विरोध भएपनि त्यसबाट पछि नहट्ने अडान दोहोर्‍याएको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शुक्रबार रातीबाट युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, टर्की, मलेसिया, जापान लगायत ५० वटा मुलुकबाट आउने र ती मुलकुबाट ट्रान्जिट भएर आउने नेपालीलाई स्वदेश फर्कन नदिने भन्दै गरेको निर्णयबाट पछि नहट्ने सरकारले बताएको छ।

सरकारका उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले नेपालीकै जीवन सुरक्षाका लागि यस्तो कठोर निर्णय गर्न सरकार बाध्य भएको र त्यो निर्णयको विरोध भयो भन्दैमा फिर्ता नलिने बताए।

मन्त्री पोखरेलले मुलुकमा आइपरेको संकटबाट सबै नेपाली जोगाउनु पर्छ भन्ने आफूहरुको उद्देश्य भएको बताए। सरकारको यो निर्णयबाट कामका लागि विदेश गएका तर भिसाको म्याद सकिन लागेका र खर्च सकिएका नेपालीलाई सबैभन्दा ठूलो मर्का परेको गुनासो बढ्दै गएको छ।

तर सरकारले आगामी एक महिना दुःख गरेर भएपनि आफूलाई विदेशमा सुरक्षित राख्न उनीहरुलाई आग्रह गर्दै आएको हो।तर विदेशमा बस्ने नेपालीले आफ्ना जनतालाई रकारले नेपाल एयरलान्स पठाएर भएपनि बचाउनु पर्ने माग विदेशमा कार्यरत नेपालीबाट उठ्न थालेको छ।

खासगरी उनीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो सुरक्षा र अवस्थामा गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन्। तर कतिपय विदेशमा बस्ने नेपालीले भने यतिबेला सरकारको निर्णयलाई साथ दिनु पर्ने तर्क प्रस्तुत गरिरहेका छन्।

प्रकाशित मिति : ७ चैत्र २०७६ शुक्रबार ००:००  २ : ०२ बजे