काठमाडौं ।
शुक्रबारदेखि बन्द गर्ने भनिएको कोरोना बिमा पुनः सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना बिमा बन्द नगर्न बिमा समितिलाई निर्देशन दिएपछि कोरोना बिमा पोलिसी पुनः बेच्न थालिने भएको हो ।
बिहीबार नेपाल बिमक संघले कोरोना संक्रमित बढ्दै गएको र बिमा कम्पनीहरुको जोखिम बढिरहेको भन्दै कोरोना बिमा स्थगित गर्ने निर्णय गरेको थियो ।
संघकै निर्णयमा सहमत भएर बिमा समितिले कोरोना बिमा बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना बिमाको कार्यक्रम ल्याएको तर बजेटको कार्यान्वयन पूर्व बिमा बन्द गरेको भन्दै अर्थमन्त्री खतिवडाले समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलाई चर्को स्वर गरेका थिए ।
कम्पनीहरुले कोरोना बिमामा घाटा लाग्ने भन्दै बिमा नगर्ने बताएका थिए । उनीहरुको गैरजिम्मेवारीपनालाई किन साथ दिएको भन्दै अर्थमन्त्रीले चापागाईंसँग चर्को स्वरमा जवाफ मागेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यसअघि पोलिसीको अवधि एक वर्षको हुने भनिएको थियो । बिमामा केही नयाँ व्यवस्था गरिएको भनिए पनि पोलीसीमा खासै परिवर्तन गरिएको छैन ।
अब गरिने कोरोना बिमाको अवधि भने ०७७ चैत मसान्तसम्मको हुने गरी परिवर्तन गरिएको छ ।
यसअघि नै पोलिसी खरिद गरिसकेकाहरुका हकमा भने एक वर्षसम्म दाबी लागू हुनेछ ।
समितिले ४ वैशाखमा कोरोना बिमालेख बिक्री गर्ने अनुमति दिएपछि २० वटा बिमा कम्पनीले ७ वैशाखबाट कोराना बिमालेख बिक्री गर्दै आएका थिए ।
डेढ महिनाको अवधिमा करिब तीन लाखले बिमालेख खरिद गरेका छन् । जसबाट १६ करोड ५० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन भएको छ ।
सरकारले बजेटमार्फत सबै सरकारी कर्मचारीको कोरोना बिमा गर्ने घोषणा गरेको छ । त्यस्तै, कोरोना बिमाको ५० प्रतिशत प्रिमियम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
हाल नेपाल पुनर्बिमा कम्पनीले २० प्रतिशत र २० वटा निर्जिवन बिमा कम्पनीले ४.४ प्रतिशत जोखिम बोकेर कोरोना बिमा पोलिसी बेचिँदै आएको छ ।







प्रतिक्रिया