कपिलवस्तु ।
नेकपा एमाले निकट जनवर्गीय संगठनहरूको जिल्ला जनसंगठन समन्वय समितिको बैठक पार्टी कार्यालयको सभा हलमा सम्पन्न भएको छ। प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बसेको उक्त बैठकमा निर्वाचन परिणामको समीक्षा, संगठनको वर्तमान अवस्था तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको विषयमा बैठकमा गम्भीर समीक्षा गरिएको थियो। सहभागीहरूले संगठनको सक्रियता, जनसम्पर्क विस्तार, चुनावी परिचालनमा भएका कामको बारेमा पुर्णरूपमा समिक्षा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपानेले वर्तमान सरकारले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाउदै ओलीको रिहाइका लागि पार्टीले घोषणा गरेका आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन जिल्ला जनसंगठन समन्वय समितिलाई आह्वान गर्नुभएको छ ।
बैठकले पार्टीको केन्द्रीय सर्कुलर बमोजिम आन्दोलनका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ। २०८२ चैत २८ गते पालिका तहमा, २०८३ बैशाख २ गते वडा तहमा, २०८३ बैशाख ७ गते प्रदेश तहमा र २०८३ बैशाख १२ गते काठमाडौं केन्द्रित आन्दोलन आयोजना गरेको छ । साथै पार्टीले २०८२ चैत २५ गते देशको समसामयिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।
बैठकका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनालले सबै जनसंगठनलाई अझ सक्रिय, चुस्त र व्यवस्थित बनाउन निर्देशन दिदै अध्यक्ष खनालले संगठनलाई जनतासँग नजिक राख्दै पार्टीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आगामी दिनमा सशक्त र अनुशासित संगठन निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
बैठकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य झविलाल पोख्रेल, विभिन्न जनसंगठनका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन पार्टीका सचिव सि। बि। गहतराजले गर्नुभएको थियो।
बैठकले संगठन सुदृढीकरण, जनआधार विस्तार तथा पार्टीका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिने निर्णय गर्दै आगामी आन्दोलनका कार्यक्रमहरूलाई सफल पार्न सबै तहका संगठनहरूलाई सक्रिय बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।







प्रतिक्रिया