२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

देउवाले भने– हाम्रो सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी



काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिबारे भ्रामक र झूटा प्रचारबाजी भएको दाबी गरेका छन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको विषयमा बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै देउवाले उक्त दाबी गरेका हुन्।

‘म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरू गरिएको भन्ने जानकारी सञ्चार माध्यमबाट थाहा पाएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘म र मेरो परिवारको सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झूटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु।’

अहिले आफूहरू स्वास्थ्य उपचार निम्ति विदेशमा रहेको उल्लेख गर्दै देउवाले उपचार जारी रहेको जानकारी दिएका छन्।

‘वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्छु,’ उनले लेखेका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएका थिए। देउवा दम्पती अहिले स्वास्थ्य उपचार सिलसिलामा हङकङमा छन्।

देउवाले आफ्नो वक्तव्यमा नेपालको कानुन अनुसार आफू र आफ्नी पत्नीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि उल्लेख गरेका छन्।

‘देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शितासँगै राज्यका अंगहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यतीत गरेको हुँ,’ उनी लेख्छन्, ‘मेरो जीवन एउटा खुल्ला पुस्तकका रूपमा रहेको छ।’

उनी अगाडि लेख्छन्, ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ।’

प्रकाशित मिति : २५ चैत्र २०८२ बुधबार ००:००  ८ : ५० बजे