प्यूठान ।
प्यूठानमा थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । मंगलबार जिल्लाको माण्डबी गाउँपालिकामा ५ र ऐरावती गाउँपालिकाका १ गरी ६ जनामा कोरोना पुष्टि भएपछि जम्मा संक्रमितको संख्या १८ पुगेको हो ।
गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख ध्रुव पोख्रेलले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए । पोख्रेलका अनुसार माण्डवी ५ रम्दीका उनीहरु भारतबाट आएर उदयपुरकोटस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए ।
पिसीआर पोजेटिभ देखिएका ती संक्रमित २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् । संक्रमित सबैलाई देबिस्थानस्थित बहुउद्देश्यीय हलमा ब्यबस्थापन गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।
त्यस्तै ऐरावतीको बरौला स्थित क्वारेन्टाइनमा बसिरहेका एक २६ बर्षीय पुरुषमा समेत कोरोना देखिएको गाउँपालिकाले जनाएको छ ।
यसअघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकामा १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरुमारानीका एक जना बाहेक अन्य सबै जिल्लाभित्रकै आइसोलेशन सेन्टरमा छन् । सोमबार सरुमारानीका १९ बर्षीय युवकलाई भने बेलझुण्डी कोरोना अस्पताल दाङ पठाईएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार कोरोना संक्रमित सबैको अबस्था सामान्य छ । उनीहरु सवै स्वास्थ्यकर्मीको निगरानीमा छन् । मंगलबार थप ६ जनामा संक्रमण देखिएसंगै जिल्लामा कूल कोरोना संक्रमित १८ जना पुगेका छन ।







प्रतिक्रिया