२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

प्रचण्डले भनेः राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदैछ



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेको बताउनुभएको छ ।

प्रतिनिधिसभा संसद बैठकमा आज प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताउनुभएको छ ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ उहाले भन्नुभयो, ‘गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं । राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ । ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ ।’ प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिनुभएको छ ।

‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन । राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ,’ उहाले भन्नुभयो ।

उहाले अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताउनुभयो । लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ । भारतसँग नेपालले कुनै दुश्मनी नराख्ने उहाले बताउनुभयो ।

‘यो समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर छौं । यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो । हाम्रोतर्फबाट अधिकतम प्रयास गरिएको हो,’ प्रचण्डले भन्नुभयो, ‘भारतसँग मित्रता चाहेका छौं । आवेगमा छैनौं । नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन ।’

प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताउनुभयो । नेपालको राष्ट्रिय मुद्दामा एकठाउँमा हुने सावित फेरि एकपटक विश्वसामु देखाएर सन्देश दिएको उहाले बताउनुभयो । प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ३ : २२ बजे