काठमाडौं ।
अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज (आइतबार अपराह्न ४ बजेलाई तय भएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।
नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट (एमसीसी) नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो । सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बालुवाटार स्रोत बताउँछ । यद्यपि, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग सल्लाह नै नगरी बैठक स्थगित गरिएको भन्दै उहाँ रूष्ट बन्नुभएको थियो ।
परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै पारित गर्न ध्यानाकर्षण गराइसकेको छ ।
कांग्रेस सरकारको पालामा (२०७४ भदौ २९ गते) अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको मत छ । पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा छ । सत्तारूढ दल नेकपा भने विभाजित भएको छ । सचिवालयमै मतैक्य छैन ।







प्रतिक्रिया