कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा सम्पन्न ‘चौथो मेयर कप–२०८३’ अन्तर्गत नगर एवं जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा खुलातर्फ तारा पगेनी र गिरु रानाको जोडी तथा ४५ वर्षमाथि समूहमा रितेश थापा र सञ्जय गुरुङको जोडी विजेता बनेका छन्।
खुलातर्फ विशेष बस्नेत र निखिल परियारको जोडी उपविजेता बने भने रितेश थापा र सिद्धार्थ कार्कीको जोडी तृतीय स्थानमा रह्यो। यस्तै ४५ वर्षमाथि समूहमा सन्दीप श्रेष्ठ र मोहम्मद हुसेनको जोडी उपविजेता तथा तिलक बस्नेत–नारायण ढकाल र बलबहादुर क्षेत्री–अशोक श्रेष्ठका जोडी संयुक्त रूपमा तृतीय बने।
खुलातर्फ प्रथम हुने जोडीलाई कप, मेडल, प्रमाणपत्रसहित नगद २० हजार रुपैयाँ प्रदान गरिएको थियो। उपविजेताले १५ हजार तथा तृतीय हुने जोडीले १० हजार रुपैयाँ प्राप्त गरे। ४५ वर्षमाथि समूहका विजेतालाई कप, मेडल, प्रमाणपत्रसहित ३० हजार रुपैयाँ, उपविजेतालाई २० हजार रुपैयाँ र तृतीय हुने दुवै जोडीलाई जनही १० हजार रुपैयाँ नगद प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै यस्ता प्रतियोगिताले ब्याडमिन्टन खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे।
प्रतियोगितामा बिगिनर्स ९कपिलवस्तु नगरपालिका स्तर०, यू–१५ बालक एकल ९जिल्लास्तर० तथा महिला एकल खुला ९जिल्लास्तर० विधाका खेलहरू पनि सञ्चालन गरिएको प्रशिक्षक राजेश प्रताप शाक्यले जानकारी दिए।
कपिलवस्तु नगरपालिकाको सहयोग तथा जिल्ला खेलकुद विकास समिति कपिलवस्तु र जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो। समापन समारोह राजेश प्रताप शाक्यको अध्यक्षता तथा बलराम न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।













प्रतिक्रिया