२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

अर्घाखाँचीमा झुन्डिएर आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि



बिष्णु कुमार आले, अर्घाखाँची ।
झुन्डिएर आत्महत्या गरेका अर्घाखाँची शीतगंगा ५ गल्दा चित्रेबारीका ४५ बर्षीय पुरूषमा कोरोना पुष्टि भएको छ । शीतगंगा ५ गल्दा हरि माविको क्वारेन्टाइनमा बसेका देब बहादुर बिकले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

कोरोना आरडिटीमा पोजेटिभ देखिएका उनी तीन जना साथीहरूसँग क्वारेन्टाइनमा बस्दै आएका थिए । रातिको समयमा संगै सुतेका साथीहरूलाई सुताएर उनी स्कुलको पूर्वपट्टीको रूखमा आफुले बिछाउँदै आएको तन्ना च्यातेर आत्महत्या गरेका हुन् ।

उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडिटी परिक्षण गरिएको थियो । उनको आरडिटीमा पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको थियो । तर, मृतकको पीसीआर रिपोर्ट नआएपछि शवलाई ब्यवस्थापन गर्न निकै कठिन भएको थियो ।

पुरूषले आत्महत्या गरेपछि पीसीआर रिपोर्ट नआउँदासम्म शवलाई दिन भर प्रहरी, सेना र स्थानीयले कुरेर बसेका थिए । इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोली र रामबाण गुल्म ठाडाका गुल्मपति ईश्वर काफ्लेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले मृतक पुरूषमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि तारेपैरो फुलबारी सामुदायिक वनमा शबको व्यवस्थापन गरिएको छ ।

मृतक पुरूषसहित अर्घाखाँचीमा ५२ जना बुधबार कोरोना संक्रमित थपिएका छन । योसंगै संक्रमितको संख्या १ सय ११ जना पुगेको छ ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ९ : ३१ बजे