७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

सलह पश्चिमतर्फ प्रवेश गर्ने अनुमान, सजग हुन आग्रह



काठमाडौं ।
गत आइतबार दाङ जिल्लाबाट प्रवेश गरेको सलहको झुन्ड प्यूठान हुँदै रोल्पा, रुकुम लगायत पश्चिम उत्तरतर्फ जान थालेको छ । नवलपरासीमा प्रवेश गरेका केही हजारको संख्यामा रहेका सलहहरु बेणी त्रीवेणी क्षेत्रमा आश्रय लिएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । मौसममा परिवर्तन भएको र पूर्वी तथा दक्षिण पूर्वी वायुको प्रभाव बढेकाले ती सलहहरु पश्चिमतर्फ जाने पूर्वानुमान केन्द्रको छ ।


गत असार १३ देखि १६ सम्ममा प्रवेश गरेका सलहहरुमध्ये छरिएर गएका सलहहरु सानो संख्यामा अझै पनि बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट लगायतका जिल्लामा रहेको पछिल्लो जानकारी प्राप्त भएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।
भारतको उत्तर प्रदेशको सीमावर्ती क्षेत्रमा रहेका सलहहरु वायुको प्रवाहसँगै मध्य तथा पश्चिम तराईका क्षेत्र हुँदै पश्चिम तर्फ लाग्‍ने पूर्वानुमान गरिएको छ । सो क्रममा मध्य तथा पश्चिम तराईका विभिन्न क्षेत्रमा प्रवेश गर्न सक्ने सम्भावना रहेकाले विशेष गरी मध्य तथा पश्चिम तराई क्षेत्रमा सजग हुन केन्द्रले आग्रह गरेको छ ।


ती सलहहरु विस्तारै राजस्थानतर्फ प्रस्थान गर्ने क्रममा रहेको र पश्चिम तर्फ जाने भएकाले यदि कतै सलहको झुन्डको प्रवेश भएको खण्डमा तत्कालै प्रवेश गर्न सक्ने सम्भाव्य क्षेत्रमा सूचना प्रवाह गरी सजग गराइदिनुहुन पनि केन्द्रले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७ बुधबार ००:००  १ : ३६ बजे