८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

५ हजार र एउटा घडीको लोभमा १४ जनाले एक युवाको हत्या गरे



दाङ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले युवकलाई कुटपिट गरी मार्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । रोल्पा रुन्टीगढी ६ सालबाङ बस्ने २४ वर्षीय ईश्वरी बस्नेतको स्थानीय १४ जनाले निर्घात कुटपिट गरी शनिबार बिहान मृत्यु भएको थियो । सोही घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बेलुकीपख गाउँकै ६५ वर्षीय गोठे बुढा घोराहीबाट घर आउँदै गर्दा उनको साथमा भएको ५ हजार र हातमा लगाएको घडी लुटेर ईश्वरी भागेका थिए । पछि बुढाले स्थानीयलाई सबै घटना बताएपछि १४ जना शनिबार राति १ बजे उनको घर गए ।

ईश्वरी भाग्नको लागि झ्यालबाट हाम फाले । सोही क्रममा घाइते भए । घाइते अवस्थामा रहेका उनलाई स्थानीय १४ जनाले कुटपिट गरे । अवस्था गम्भीर भएपछि स्वास्थ्य चौकी डुब्रिङ लगियो । त्यहाँबाट उपचार सम्भव नहुने देखिएपछि दाङ लग्दै गर्दै उनको भन्ज्याङ खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोल्पाका जिल्ला प्रहरी प्रमुख चित्र बहादुर गुरूङले बस्नेतको मृत्यु भएको खबर शनिबार बिहान १० बजे पाएको र खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

उक्त घटनामा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघराज चापागाईंले बताए ।

प्रहरीले कुटपिट गर्ने समूहका रोल्पा रुन्टीगढी गा.पा.६ सालवाङ बस्ने ३९ वर्षीय भीम बस्नेत, ३३ वर्षीय झुपलाल बुढा, ३९ वर्षीय प्रेम ब.बुढाथोकी, ३५ वर्षीय चेतलाल साहु, ३९ वर्षीय चन्द्रलाल रोका, ३५ वर्षीय दिल ब. रोका लाई नियन्त्रणमा लिएको इन्स्पेक्टर चापागाईंले बताए । अन्य आठ जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ७ : १२ बजे