८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रोजगारी खुलेका मुलुकमा श्रम स्विकृति, लामो दूरीका बस भदौ मसान्तसम्म बन्द



काठमाण्डौँ ।
सरकारले रोजगार खुलाएका विभिन्न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । “रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो,” एक मन्त्रीले भनेका छन् । त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ ।
यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो । दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवास कमिटीले पनि उडान थप गर्न आग्रह गरेको थियो ।
यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
यस्तै यसअघि भदौ १५ गते मध्यरातसम्म रोक लगाएको आन्तरिक उडान, लामो, मध्यम तथा छोटो दूरी चल्ने सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।
बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तसम्म सारेको छ । यसअघि भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७७ सोमबार ००:००  ५ : ३५ बजे