एजेन्सी ।
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुललाई एस्टन भिल्लाले ७ – २ गोलले पराजित गरेको छ। यो लिभरपुलको ५७ वर्ष यताकै खराब प्रदर्शन हो। सन् १९६३ पछि लिभरपुलले लिगको एकै खेलमा ७ गोल खाएको यो पहिलो पटक हो।
यसअघि लगातार तीन खेलमा जित निकालेर राम्रो सुरुवात गरे पनि लिभरपुललाई सिजनको चौथो खेलमा भने नराम्रो झड्का लाग्यो।
सोमबार राति लिभरपुलविरुद्ध एस्टन भिल्लाका वाट्किन्सले ह्याट्रिक गरे। उनले खेलको चौथो मिनेटमा पहिलो गोल गरेका थिए। २२ मिनेटमा दोस्रो गोल गरेका उनले ३९ मिनेटमा ह्याट्रिक पूरा गरे।
त्यसअघि भिल्लाका लागि म्याकगिनले ३५ मिनेटमा गोल थपेका थिए। मोहमद सलाहले ३३ मिनेटमा लिभरपुलका लागि गोल गरेका थिए। पहिलो हाफमा भिल्ला ४(१ गोलले अघि रह्यो।
दोस्रो हाफमा भिल्लाले थप तीन गोल गर्यो। उसका लागि बार्क्लेले ५५ मिनेटमा पाँचौ गोल गरे।
थप दुई गोल ग्रेयलिसले गरे। उनले खेलको ६६ र ७५ मिनेटमा गरी दुई गोल गरे। लिभरपुलका लागि सलाहले ६० मिनेटमा टिम तथा व्यक्तिगत दोस्रो गोल गरे पनि त्यो खेलमा फर्कन पर्याप्त हुन सकेन।
अघिल्लो सिजन रेलिगेशनबाट बच्न संघर्ष गरेको भिल्लाले जारी लिगमा लगातार तेस्रो जित हात पारेको छ। यो सन् १९६२ पछि भिल्लाको राम्रो सुरुवात हो।







प्रतिक्रिया