२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

परासीमा नक्कली जग्गाधनी पक्राउ



परासी ।

नक्कली लालपुर्जा बनाएर जग्गा रोक्का गर्न आएका एक व्यक्ति पश्चिम नवलपरासीको परासीस्थित मालपोत कार्यालयबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–७ का मनोजकुमार श्रेष्ठलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै आएका एनआईटी बहुउद्देश्यीय सहकारी संस्था सामाखुसी काठमाडौंका सहकारी प्रतिनिधि शुभराज पौडेललाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा सहकारी नै पीडित देखिएकाले पौडेललाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए। नक्कली जग्गाधनी श्रेष्ठले साविक स्वाठी गाविस–६ हाल सुनवल नगरपालिका को ६ ‘क’ कित्ता नं ४३ को ८ कट्ठा १५ धुर र कित्ता नं ११७ को २ कट्ठा ९ धुर गरी कुल ११ कट्ठा ४ धुर जग्गाको नक्कली लालपुर्जा बनाएर ठगी गर्ने प्रयास गरेका थिए। उक्त जग्गा स्वाठीका शेखहरि सुवेदी र चेतराम गैरेको नाउँको रहेको मालपोत कार्यालय प्रमुख बेलप्रसाद भण्डारीले बताए।

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ११ : १४ बजे