६ असार २०८३, शनिबार | Sat Jun 20 2026

गुल्मी ट्रक दुर्घटनाः मृतकका परिवारले बुझेनन् शव



गुल्मी ।

ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवार र आफन्तले दोषीलाई कारबाहीको प्रक्रिया अगाडि नबढेसम्म शव नबुझने बताएका छन्।

शनिबार राति बुटवलबाट खाद्यन्न लिएर तम्घासतर्फ आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका–१३ भगारीस्थित मसिना खोलामा पैदल यात्रा गरीरहेका सोही वडाका २६ वर्षीय टोपबहादुर रजाली र २३ वर्षीय बालकृष्ण भुजेललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो। मृतको शव गुल्मी अस्पतालमा राखिएको छ।

मृतकका परिवार र आफन्तले ट्रक चालक र मालिकसँग प्रहरीले संवाद गर्न पनि नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन्। मृतक बालकृष्णकी आमा कल्पना थापाले आफूहरुलाई क्षतिपूर्तिभन्दा पनि न्याय चाहिएको बताइन्। आइृतबार साँझ मृतकका परिवार र आफन्तले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारीमा आफूहरु रहेको बताए। ट्रक चालक गुल्मी दरबार गाउँपालिका–६ चारपालाका २९ वर्षीय गोापल टण्डन र ट्रक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ पुस २०७७ सोमबार ००:००  ११ : ३९ बजे