७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

साउदी अरबमा महिलालाई थप स्वतन्त्रता



काठमाडौं ।
साउदी अरबमा महिलासँग सम्बन्धित कानुन थप खुकुलो बनाउँदै लगिएको छ । यसअघि सन् २०१८ मा महिलालाई गाडी चलाउन खुला गरेको साउदी सरकारले फेरि भर्खरै एउटा महत्वपूर्ण कानुन संशोधन गरी थप स्वतन्त्रता दिएको हो ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार नयाँ कानुनबमोजिम अब महिला वा पुरुष जसले पनि आफ्नो नाम (आफूसँग सम्बन्धित विवरण) आफू एक्लैको निर्णयअनुसार परिवर्तन गर्न सक्नेछन्।

पहिले यो अधिकार पुरुषलाई मात्र थियो भने महिलाले परिवारको अनुमतिमा मात्र आफ्नो नाम परिवर्तन गर्न सक्थे । महिलाका लागि कडा मानिने साउदीमा पहिलोपटक महिलालाई पुरुष अभिभावकबिना एक्लै घुम्ने अनुमति दिइएको थियो ।

साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले भिजन-२०३० सुरुवात गरेका छन् । जसअन्तर्गत साउदीले तेल अर्थ व्यवस्थाको ट्याग हटाउन विश्वव्यापी पर्यटकका लागि आफ्नो ढोका खोल्ने तयारी गरिरहेको छ ।

यसैका लागि उसले महिला स्वतन्त्रता बढाउँदै विश्वमा महिलाप्रति आफ्नो कडा छवि परिवर्तन गर्ने प्रयास गरिरहेको हो । एजेन्सी

प्रकाशित मिति : २१ पुस २०७७ मंगलबार ००:००  ६ : ०३ बजे