२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

बाणगंगामा खुल्ला राष्ट्रिय महिला भलिवल हुँदै, विभागीय खेलाडी–विजेतालाई १ लाख



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुमा पहिलोपटक राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट इङलिस बोर्डिङ स्कुलको आयोजनामा ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ हुने भएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, सबैको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १, २ र ३ गते विद्यालयको प्राङगणमा प्रतियोगितामा हुन लागेको विद्यालयका अध्यक्ष दीपक खनालले मायादेवी अनलाइनलाई जानकारी दिनु भयो ।

प्रतियोगितामा नेपालमै चर्चित क्लवहरु ब्लु डायमण्ड, ढोरपाटनका साथमा स्याङजा, दाङ लगायतका जिल्लाबाट ८ टिमसहित खेलाडी आउने खनालले बताउनु भयो । प्रतियोगितामा विभागिय खेलाडीले पनि सहभागिता जनाउने छन् ।

विद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलका अनुसार प्रतियोगितामा विद्यालयतर्फ रुपन्देहीका कुँवरवर्ति बोर्डिङ तिलोत्तमा, बुटवलका एभरेष्ट, होराइजन लगायतका टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता लिगकम नकआउटमा हुने छ ।

कपिलवस्तु जिल्लामा महिला भलिवलको विकास गर्न पहिलोपटक राष्ट्रिय खेल आयोजना गरिएको अध्यक्ष खनालले बताउनु भयो । खेलको प्रचार प्रसार, कोर्ट निर्माण तथा अन्य तयारीका कामहरु द्रुत ढंगबाट भइरहेको प्रचार प्रसार संयोजक चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा बाणगंगा नगरपालिकाले सहयोग गरेको छ भने मुख्य प्रायोजकमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क जितपुर शाखा रहेको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने पनि विद्यालयले जनाएको छ । विद्यालयस्तरमा महिला भलिवल खेल विकासमा यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विद्यालयले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७७ बुधबार ००:००  ७ : ३७ बजे