मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आयोजना गरेको आम हड्तालको पूर्वसन्ध्यामा कपिलवस्तुका ठाउँ ठाउँमा राके जुलुस निकालेको छ । जिल्लाका कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, महाराजगञ्ज, तौलिहवा, बनगाई, पकडी, लवनी लगायतका स्थानमा नेकपा कपिलवस्तुले राके जुलुस निकालेको हो ।
संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपाले आयोजना गरेको आम हड्ताललाई सफल पार्न बुधबार साँझ राँके जुलुस निकालिएको जिल्ला पार्टीले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।
बुधबार जिल्ला पार्टी कार्यालय कपिलवस्तुका सचिव रामचन्द्र शाह ‘विष्णु’ले एक प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएको बताउनुभएको छ । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उहाँले भन्नुभएको छ, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उहाँले जनाउनुभयो ।
जिल्ला सचिव शाहले आम हड्तालको कार्यक्रममा सरिक हुन मातहतका सबै कमिटीलाई निर्देशन दिनुभएको छ ।
हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने विज्ञप्तिमा उल्लेख छ । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने छन् ।







प्रतिक्रिया