७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

चितवनको माडीमा बँदेलको आक्रमणबाट एकजनाको मृत्यु



चितवन ।

जंगली बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ कान्तिपुर बस्ने ४२ वर्षीय नवराज ढकालको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ निस्किएको बँदेलले बारीमा घाँस काट्दै गरेका ढकाललाई आक्रमण गरेको हो।

बँदेलको आक्रमणबाट घाइते भएका ढकाललाई स्थानीयले उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।

‘जंगलबाट निस्किएको बँदेललाई भुस्याहा कुकुरहरूले लखेट्न खोज्दा घाँस काट्दै गरेका व्यक्तिसँग बँदेलको जम्काभेट भएछ। त्यसपछि बँदेलले उहाँलाई आक्रमण गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने।

मृतकका परिवारलाई वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ तेस्रो संशोधन २०७५ अनुसार राहत उपलब्ध गराइने उनले बताए।

यससँगै चालू आव २०७७(७८ को हालसम्म निकुञ्जबाट निस्किएका जंगली जनावरहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। २३ जना घाइते भएका छन्। यसअघि गैंडा र बाघको आक्रमणबाट दुई दुई जना र हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १८ बैशाख २०७८ शनिबार ००:००  ११ : ५१ बजे