१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा बैशाख २० देखि ३१ गतेसम्म लकडाउन



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा सोमबार (भोलि) देखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको डिसिसिएमसीको बैठकले बैशाख २० गते सोमवार राति १२ बजे देखि बैशाख ३१ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार कोभिड नियन्त्रणको लागि भन्दै सोमवार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द गर्ने भएको छ ।

निषेधाज्ञा अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, डेरी लगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल तथा व्यवसाय बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ ।

औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी निस्किने बाहेक अरू प्रयोजनमा स्थानीयलाई घर बाहिर निस्किन रोक लगाइएको छ ।

केही दिन यता कोरोना संक्रमण बढ्दै गएपछि सन्धिखर्क, चुत्राबेसी जिल्लाका सबै पालिकाका बजारहरूमा चहलपहल, आवतजावतमा कमी आएको थियो । जिल्लाभर पसलहरु धमाधम आँफै बन्द हुँदै गएका थिए ।

साथै जिल्लाभर पुर्व निर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । सवारी साधनहरु पनि कम चलेका छन् । जिल्लामा १ सय ५१ सक्रिय संक्रमित रहेका छन् भने २३ जनाको मृत्युु भईसकेको छ

प्रकाशित मिति : १९ बैशाख २०७८ आइतबार ००:००  ५ : ५२ बजे