२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

ओली सुध्रिने संकेत देखिँदैन, अब पार्टी पुनर्गठनमा अघि बढ्छ – माधव नेपाल



काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने संकेत नदेखिएको भन्दै छिट्टै पार्टी पुनर्गठन हुने बताएका छन् ।

आफ्नो समूहका जिल्ला कमिटी अध्यक्ष र सचिवहरुसँगको भर्चुअल संवादमा उनले यस्तो बताएका हुन् । ‘ओलीजी सुध्रिहाल्नु हुन्छ कि भनेर हामीले हप्तादिन जतिको समय राखेका छौं’, नेता नेपालको भनाइ उधृत गर्दै सहभागी एक नेताले भने, ‘भएन भने अन्तिम विकल्प भनेको पुनर्गठन गरेर अघि बढ्ने भन्ने नै हो ।’

नेपालले शनिबार बिहान ११ बजेदेखि सबै जिल्लाका आफूनिकट कमिटीका अध्यक्ष र सचिवसँग भर्चुअल छलफल गरेका थिए । छलफलमा उनले केही साथीहरु ओली केही गरेर सुध्रिन्छन् की भनेर लागिरहेको भन्दै आफूलाई भने कुनै विश्वास नभएको बताएका छन् ।

ओली पक्षसँग निरन्तर संवाद गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टलाई संकेत गर्दै उनले यस्तो बताएका हुन् । नेता नेपालले ओली पूर्ण रुपमा सच्चिएर आउन तयार भए मात्रै पार्टी एकताको सम्भावना रहने प्रष्ट पारेका थिए ।

जिल्ला अध्यक्ष र सचिवहरुले अब धेरै समय ओली सच्चिएर आउलान् भन्ने आशा नरहेको भन्दै छिटो निष्कर्ष निकाल्नुपर्ने सुझाव नेता नेपाललाई दिएका थिए ।

बिहीबार र शुक्रबार दुई दिन केन्द्रीय कमिटीका सदस्यहरुसँग छलफल गरेका नेता नेपालले आज आफ्नो समूहले गठन गरेको समानान्तर जिल्ला कमिटीका अध्यक्ष र सचिवहरुसँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८ शनिबार ००:००  ४ : २६ बजे