७ असार २०८३, आइतबार | Sun Jun 21 2026

एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियोः भीम आचार्य



काठमाडौँ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने मनसायका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिन लागेको टिप्पणी गरेका छन्। उनले पर्याप्त समय हुँदा हुँदै आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र बाहेक अरु केही नहुने बताए। वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा आन्तरिक छलफलपछि संवाददाताहरुसँग आचार्यले भने ‘अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र हो।’

उनले एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम भैरहेको बताए। एमाले सचिव समेत रहेका आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको पनि दाबी गरे। उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन। मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन।’ यसबारे आफूहरु थप छलफलमा रहेको उनले बताएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८ आइतबार ००:००  १ : ०६ बजे