१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अर्घाखाँचीमा साउन ३० गतेसम्म लकडाउन, जिल्ला प्रवेश गर्न अनिवार्य पास



बिष्णु कुमार आले, अर्घाखाँची ।
जिल्लामा कोरोनाका बिरामी बढेसँगै जिल्ला प्रशासन अर्घाखाँचीले साउन ३० सम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आइतबारबाट साउन ३० गते राति १२ बजेसम्म घरभित्रै सुरक्षित भएर बस्न जिल्लाबासीलाई आग्रह गरेको छ ।

यस अवधिमा बिहान ७ देखि ९ बजेसम्म दुधडेरी, खाद्यान्नलगायत अत्यावश्यक पसल मात्र खोल्न पाईनेछ । सार्वजनिक, निजी यातायात, बैंक तथा वित्तीय संस्था पुरै बन्द हुनेछन् ।

शिक्षण संस्था, धार्मिक स्थल, विभिन्न कार्यक्रम, सभा, सम्मेलन लगायत भीडभाड हुने गतिविधिमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । ‘गाउँमा कोरोना संक्रमण दर बढेकाले नियन्त्रणको लागि कडा निषेधाज्ञा जारी गर्नुपरेको हो,’ उनले भने, ‘अर्घाखाँचीवासी १४ दिनसम्म घरभित्रै सुरक्षित भएर बस्नुस्, कतै नहिँड्नुस् । कोरोना नियन्त्रणमा सघाउँनुस् ।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्लामा आउनु पर्ने भएमा जिल्ला प्रशासनको समन्वयमा सम्बन्धित जिल्लाको सवारी पास लिएर आउनु पर्ने छ । साथै लोक सेवा आयोग , त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा वोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद् लगायतका निकायबाट पुर्वनिर्धारित परिक्षामा सहभागी हुने परिक्षार्थीहरूलाई पास आवश्यक नपर्ने जिल्ला प्रशासनद्धारा जारि सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा हाल ५ सय ७१ जना कोरोना संक्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन् । गाउँ–गाउँमा रुघाखोकी, ज्वरोका बिरामी छन् । गाउँमा एन्टिजेन्ट परीक्षण बढाउने र संक्रमित भएकालाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा राखिने प्रजिअ पौडेलले बताए ।
गाउँमा तेस्रो लहर आएकाले कोरोना संक्रमण बढेको जिल्ला अस्पताल प्रमुख डा. कपिल गौतमले बताए । ‘एन्टिजेन परीक्षण गरिएका मध्ये आधा भन्दा धेरैको रिपोर्ट पोजिटिभ आउने गर्छ । अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन दिएर बचाउनु परेको छ । जिल्लामा तेस्रो लहरको संक्रमण दर बढ्दो छ,’ उनले भने, ‘बेलैमा नियन्त्रण नगरिए भयावह स्थिति हुन सक्छ, सबैलाई सचेत रहन उनले आग्रह गरे ।‘

गाउँमा धेरैजसो रुघाखोकी, ज्वरो आउनेका बिरामी प्रायः घरैपिच्छे भएकाले स्थानीय तहको समन्वयमा एन्टिजेन परीक्षण गर्ने र संक्रमितलाई होम आइसोलेसनमा राख्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापाले बताईन् । उनले भनिन्, ‘अठार बर्ष मुनिका बालबालिकालाई आएका तीन ओटै खोप लगाउन नमिल्ने भएकाले बालबालिका बढि जोखिमा परेका छन् ।‘

प्रकाशित मिति : १७ श्रावण २०७८ आइतबार ००:००  ५ : ४२ बजे