२४ भाद्र २०८१, सोमबार | Mon Sep 9 2024

अफगानिस्तानले दियो नेपाललाई १९६ रनको लक्ष्य



काठमाडौं, साउन १० ।
सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा टेष्ट राष्ट्र अफगानिस्तानले नेपाललाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ ।
पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १९५ रन बनायो । अफगानिस्तानले दिएको १९६ रनको लक्ष्यसहित नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
अफगानिस्तानको उच्च योगफलमा ओपनर इब्राहिम जाड्रनले शतकीय पारी खेले । दिपेन्द्र सिहं एरीले बलमा साहब आलामको हातबाट क्याच आउट हुनुअघि जाड्रनले १०१ रनको शतकीय पारी खेले । उनले ११४ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै अफगानिस्तानका इक्राम अलीले २४ तथा नाभिद ओबैडले २२ रन जोडे । नेपालका लागि साहब आलमले ४, दिपेन्द्र सिहं एरीले ३ तथा कप्तान सन्दिप लामिछाने र पवन सर्राफले समान एक(एक विकेट लिए ।
राउण्ड रोबिनका आधारमा जारी छनोटमा नेपाल र अफगानिस्तानबीचको खेलबाट न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने टोलीको टुङ्गो लाग्नेछ । छनोटमा नेपालको सम्भावना गणितीय मात्र बाँकी छ भने अफगानिस्तान छनोट हुने पक्का जस्तै छ ।
छनोटमा नेपालले ५ खेलमा ४ मा जित र १ खेलमा हार ब्यहोरेको छ । र, नेपाल ८ अंकसहित दोस्रो स्थानमा छ । लगातार पाँच खेल जितेको अफगानिस्तान १० अंक जोडेर शिर्ष स्थानमा छ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । विश्वकपमा छनोट हुन नेपाललाई अफगानिस्तानविरुद्ध जितसहित अविश्वसनीय नतिजाको खाँचो हुनेछ ।

प्रकाशित मिति : १० श्रावण २०७४ मंगलबार ००:००  ५ : ५८ बजे