काठमाडौं ।
कप्तान राफिन्हा र युवा स्टार लामिन यामल चम्किँदा साबिक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो विजयी यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ ।
सोमबार बार्सिलोनाले रायो भायकानोविरुद्ध ५–२ को जित निकालेको हो । क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र यामलले दुई–दुई गोल गरे ।
एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । भायोकानोका लागि दुवै गोल सर्जियो कामेलोले गरे ।
खेलको १२औँ मिनेटमा कामेलोको गोलमार्फत भायोकानोले अग्रता लिएको थियो । तर, त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । १९औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई बराबरीमा ल्याए ।
बराबरीमा आएको दुई मिनेटपछि नै यामलले गोल गर्दा बार्सिलोनाका अग्रता २–१ मा पुग्यो । भायोकानोका रक्षक फ्लोरियन लेजेउनेबाट आत्मघाती गोल हुन पुग्दा ५१औँ मिनेटमा बार्सिलोना ३–१ ले अगाडि बढ्यो ।
कामेलोले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भायोकानोलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, राफिन्हाले ७१ र यामलले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ५–२ ले विजयी भयो ।
लगातार तेस्रो जितसँगै ९ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो हार ब्यहोरेको भायोकानो तीन खेलबाट एक अंकका साथ १८औँ स्थानमा छ ।









प्रतिक्रिया