१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

धार्मिक तथा सांस्कृतिक गतिविधि मर्यादित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासनको अनुरोध


१ कार्तिक २०८३ शनिबार ००:००  

0
Shares

कपिलवस्तु, ३१ असोज। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विजयादशमी तथा शुभ दीपावलीको अवसरमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दा आपसी सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्न जिल्लावासीलाई अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले कपिलवस्तु जिल्ला धार्मिक, सांस्कृतिक तथा सामाजिक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै विविधतालाई साझा सम्पत्ति, पहिचान र गौरवका रूपमा स्थापित गर्न सबैलाई आग्रह गरेको छ।

कार्यालयद्वारा जारी अनुरोधपत्रमा दुर्गा मूर्ति स्थापना, धार्मिक पूजा, मूर्ति विसर्जन तथा अन्य धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा आपसी सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक सुव्यवस्थालाई उच्च प्राथमिकता दिन भनिएको छ।

मूर्ति विसर्जनका क्रममा हुन सक्ने भीडभाड, विवाद, झैझगडा, अवाञ्छित घुसपैठ तथा उत्तेजनात्मक गतिविधि नगर्न र नगराउन पनि प्रशासनले आग्रह गरेको छ। त्यसैगरी, धार्मिक आस्थामा चोट पुग्ने अभिव्यक्ति, एकअर्काको धर्म वा संस्कृतिप्रति अपमानजनक व्यवहार, सामाजिक सञ्जालमार्फत अफवाह तथा भ्रामक सूचना सम्प्रेषण, घृणा वा द्वेष फैलाउने गतिविधि र ध्वनि प्रदूषण गरी सार्वजनिक शान्तिमा असर पार्ने कार्य नगर्न अनुरोध गरिएको छ।

बिज्ञप्ती मार्फत गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गरिएय्को छ।

अन्त्यमा, विविधतामा एकता, परस्पर सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई साझा पहिचानका रूपमा स्थापित गर्दै विजयादशमी तथा शुभ दीपावलीको अवसरमा कपिलवस्तुवासीसहित देश–विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ।

प्रकाशित मिति : १ कार्तिक २०८३ शनिबार ००:००  १० : ५८ बजे