८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रपति महिला उत्थान कार्यक्रम सकियो



पार्वती पाण्डे, कपिलवस्तु ११ साउन ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ३ महिने सिपमुलक तालिमको समापन गरिएको छ । उक्त कार्यक्रम अन्तरगत ब्युटिसियन र सिलाई कटाई तालिम तौलिहवामा आयोजना गरिएको थियो । जसमा ३५ जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो । सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समितिका स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौंपानेले सिपलाई व्यवहारमा उतारेर व्यवसायी बन्न आग्रह गर्नुभएको छ ।
कपिलवस्तु जिल्लामा महिला हिंसाका घटना बढदै गएको र द्धन्द्ध प्रभावित महिलाहरुको पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडी पारिएको अवस्था रहेकोले कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिएको स्मरण गराउँदै महिलाहरु आत्मनिर्भर बन्नका लागि तालिम उपयोगी बन्ने जनाउनुभयो ।
अधिराज्यका ३० जिल्लामा संचालन हुने राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सो कार्यक्रम कपिलवस्तुवाट शुभारम्भ हुनु निकै सुखद पक्ष रहेको भन्दै जिल्लाका महिलाहरुले अवसर पाएको बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले सरकारले दिएको सिपलाई व्यवहारमा लिई स्वरोजगार बन्नु पर्ने जनाईन । कार्यक्रमले गर्दा महिला माथि हुने हिंसा पनि कम हुने उहाले जनाउनुभयो ।
कार्यक्रममा उद्योग विकास शाखा कपिलवस्तुका प्रमुख मनोज कुमार सैनीले महिलाहरुले विभिन्न व्यवसायहरुलाई उद्योग विकासमा दर्ता गराएर व्यवसाय संचालन गर्नु पर्ने जनाउनभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले सिपमुलक तालिमले महिलाहरु आफ्नो खुट्टामा उभिने अवसर प्रदान भएको भन्दै यस अवसरलाई अक्षरस व्यवहारमा उर्तान सकेमा मात्र राज्यको उद्देश्य पुरा हुने बताउनुभयो ।
महिला विकास निरिक्षक सम्झना भण्डारीको संचालनमा भएको कार्यक्रममा लैंगिक हिंसा न्युनिकरणमा अधिकारको क्षेत्र बाट उलेखनिय भुमिका खेलेको भन्दै अधिकारकर्मी एवं दियालो नेपालका संस्थापक सदस्य मिना परियारलाई सम्मान पत्र सहित २० हजारको राशीले सम्मान गरिएको थियो ।
त्यस्तै हिंसा सहदै समाजमा शाहसका साथ व्यवसाय चलाएर अरुका लागि उदाहरणीय बनेकि दुर्गा ढकाललाई सम्मान पत्र सहित १७ हजारको राशीले सम्मान गरिएको थियो । सम्मान पछि दुवै जनाले आफुहरुले जिवनमा भोगेका कठिनाई र संघर्षका बारेमा स्मरण गराउँदै सम्मानले थप जिम्मेवारी थपिएको महशुस भएको बताएका थिए । कार्यक्रममा प्रशिक्षक गुड्डी गुप्ता, सहभागीहरु टोपा बिक, लिला परियारले तालिम उपलब्धी मुलक बनेको भन्दै थप एड्भान्स लेबलको तालिम दिनु पर्ने जनाएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ३० बजे