चन्द्रौटा । शिवराज नगरपालिकाका तीन वडाका १० विद्यालयका विद्यार्थीबीच आयोजित हाजिरी जवाफ प्रतियोगितामा ज्ञानाेदय आधारभूत विद्यालय, सेमरी प्रथम भएको छ।
शिवराज नगरपालिका वडा नं. ४, १० र ११ अन्तर्गतका विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत ४० विद्यार्थी सहभागी प्रतियोगितामा दुर्गा भगवती माध्यमिक विद्यालय नयाँ बस्ती दोस्रो, दुर्गेश नन्दनी आधारभूत विद्यालय थुनिया तेस्रो र राष्ट्रिय आधारभूत विद्यालय डकहियाले चौथो स्थान हासिल गरेका छन्।
विद्यार्थीमा ज्ञान, तार्किक क्षमता, आत्मविश्वास, टिम वर्क र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। समसामयिक सहित पाठ्यपुस्तकमा आधारित विषयमा सोधिएका प्रश्नको विद्यार्थीले उत्साहपूर्वक जवाफ दिएका थिए।
स्थानीय अधिकार कार्यक्रमकी कार्यक्रम अधिकृत ममता मिश्राकाे अध्यक्षता सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथिमा राष्ट्रिय आधारभूत विद्यालय, डकहियाका प्रधानाध्यापक हिरा पोख्रेल रहेका थिए। उत्कृस्ट विद्यालयहरूलाई पुरस्कार वितरण गरिएकाे छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा भएको प्रतियोगिता शिवराज नगरपालिकाको सहकार्य र एक्सनएड इन्टरनेसनल नेपालको सहयोगमा सम्पन्न भएको हो। आयोजकले विद्यार्थीको सिकाइलाई कक्षाकोठाबाट बाहिर ल्याउँदै प्रश्न गर्ने, सोच्ने र आफ्नो ज्ञान प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको जनाएको छ। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय अधिकार कार्यक्रमका कर्मचारी लगाएतको उपस्थिति रहेकाे थियो।








प्रतिक्रिया