१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पश्चिमाञ्चलमा पहिलो पटक प्रिमियर लिग हुँदै



बुटवल, १४ साउन ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा रुपन्देहीमा पहिलो पल्ट तिलोत्तमा प्रिमियर लिग टि–२० प्रतियोगिता २०७४ हुने भएको छ । क्रिकेट खेलको विकाससंगै स्थानिय खेलाडीहरुलाई ब्यवसायिक बनाउने उद्येश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मलेन गरि आयोजकले बताएको हो ।

पश्चिमाञ्चल क्षेत्रमा नै पहिलोपल्ट खेलाडी किनबेच गर्ने(अक्सन) को आधारमा टिम तयारी गरि प्रतियोगिताको तयारी भैरहेको समितिका अध्यक्ष सुनिल ढुङ्गानाले बताए । ‘पश्चिमाञ्चल क्षेत्रमा नै पहिलो पटक अक्सनमार्फत खेलाडीको टिम तयार गरिने छ ।’– उनले भने । यसले खेलाडीहरुको आर्थिक पाटोलाई सहयोग गर्ने तथा उनिहरुमा क्षमता विकास गर्न स्वच्छ प्रतिस्प्रर्धाको भावना जाग्ने समेत उनले बताए ।

रुपन्देही जिल्लाका विद्यालयस्तर, जिल्ला, क्षेत्रिय र राष्ट्रियस्तरमा खेल्ने खेलाडीहरुलाई अक्सनमार्फत टिममा आवद्ध गराईने उनले बताए । खेलाडीलाई अक्सनमार्फत खरिद गरिदा न्युनतम पनि स्थानिय खेलाडीहरुले ३ देखि ५ हजार, राष्ट्रिय खेलाडीहरुले ५ देखि १० हजार तथा टिम क्याप्टेनले १५ हजार पारिश्रमिक पाउने उनले बताए । प्रतियोगिता असोज २२ गतेदेखि ३१ गतेसम्म तिलोत्तमा नगरपालिकाको नवजिवन क्लबको खेलमैदानमा हुने छ ।

प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका ४, बुटवल उपमहानगरपालिकाको २, सिद्धार्थ नगरपालिका र लुम्बिनी सास्कृतिक नगरपालिकाको १–१ गरि आठ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताका संयोजक दिपक भु्रतेलले बताए । यस क्षेत्रमा नै पहिलोपल्ट ठुलो उपाधिको समेत प्रतियोगिता आफुहरुले आयोजना गर्न लागेको उनले बताए । उपाधि विजेताले ट्रफिसहित नगद २ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ट्रफिसहित नगद १ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि प्रतियोगितामा एक जना उत्कृष्ट खेलाडीलाई म्यान अफ दी सिरिजबाट नगद १५ हजार, एकएक जना वेष्ट बलर, वेष्ट ब्याट्सम्यानलाई जनही नगद ७ हजार ५ सय, एक जना ईमर्जिङ्ग प्लेयरलाई नगद ५ हजार तथा एक जना टिमलाई टिम फेयर प्ले अवार्ड २५ हजार र ट्रफिमार्फत पुरस्कृत गरिने खेल संयोजक भु्रतेलले बताए । प्रतियोगिता संचालनका लागि ३० लाख रुपैया लाग्ने र स्थानिय संघसंस्था, खेलप्रेमीहरुबाट आर्थिक जुट्ने उनले बताए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७४ शनिबार ००:००  २ : ०२ बजे