१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

विदेशमा रहेका नेपालीद्वारा अर्घाखाँचीमा शैक्षिक सामाग्री सहयोग



अर्घाखाँची, २९ असोज ।
अर्घाखाँचीको शितगगांबाट विदेश गएका युवाले गाउँका दुई वटा विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।
विदेश गएका युवाले स्थापना गरेको शितगंगा सेवा समाजले सितगंगा नगरपालिकाका जनजागृति मावि र सुवोधिनी मावि वर्रेलाई सात लाख रुपैयाँ बराबरका कम्प्युटर तथा शैक्षिक सामाग्री हस्तान्तण गरेको हो ।
जनजागृति माविलाई ८ वटा कम्प्युटर, एउटा प्रिन्टर र सुवोधिनी मावि वर्रेलाई पाँच वटा कम्प्युटर र एउटा प्रिन्टर हस्तान्तरण गरेको हो । परदेशमा बस्ने युवाले २ महिनामा आफ्नो खर्च कटाएर गाउँका विद्यालयलाई सहयोग गर्न रकम सङ्कलन गरेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक तथा शितगंगा नगरपालिकाका नगर शिक्षा अधिकारी माधव वञ्जाडे, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका जिल्ला संयोजक कुशल भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेल, संस्थाका मिडिया संयोजक अम्बिका श्रेष्ठ, सहयोगदाता पदम थामी, विद्यार्थी सावित्रा भुसाल लगायतले बोल्नुभएको थियो ।
प्रमुख अतिथि भुसालले विदेशमा कमाएको रकम आफ्नो गाउँठाउँको समाजिक काममा खर्च गरेकोमा धन्यवाद दिनुभयो । जनजागृति माविका प्रधानाध्यापक रोमाखर वञ्जाडेले कम्प्युटरको प्रयोगले विद्यार्थीमा प्राविधिक ज्ञानको बढ्ने बताउनु भयो ।
शितगंगा क्षेत्रमा अहिलेसम्म बिजुली पुगेको छैन । कम्प्युर चलाउन सोलारको प्रयोग गरिँदै आएको छ । संस्थाका संयोजक विष्णु पौडेलले अहिलेको परिस्थितिमा कम्प्युटर ज्ञान अनिवार्य नै भइसकेकाले विद्यालयको आवश्यकतालाई ध्यानमा राखेर कम्प्युटर वितरण गरिएको जानकारी दिनुभयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष महेन्द्र क्षेत्रीले कम्प्युटरको ज्ञान नहुँदा आफूहरुले परदेशमा दुःख पाएको भन्दै आउने पुस्ताले यस्तो दुःख नपाउनु भनेर सहयोग गरिएको बताउनुभयो । समाजले अन्य विद्यालयलाई पनि कम्प्युटर हस्तान्तरण गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७४ आइतबार ००:००  २ : ३२ बजे