१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भुसाललाई जेलमुक्त गराउन रकम संकलन अभियान



नवलपरासी, ३१ असोज ।
झण्डै साढे तीन वर्षदेखि साउदीको जेलमा रहेको नवलपरासीको मध्यबिन्दु नगरपालिका–४ मदनपुरका ३७ वर्षीय थानेश्वर भुसाललाई जेलबाट मुक्त गराउनका लागि रकम संकलन अभियान शुरु गरिएको छ ।
उनलाई मुक्त गराउन साउदीको डेढ लाख रियल लाग्ने भएको छ । उनलाई तोकेको जेल अवधि सकिसक्दा पनि उनले बुझाउनु पर्ने जरिवाना रकम बुझाउन नसक्दा उनी अझै छुट्न सकेको छैन ।
त्यसका लागि नवलपरासीमा रकम संकलन अभियान थालिएको आप्रवासी कामदारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सामी परियोजनाले जनाएको छ । प्रवासी मञ्चको सहयोगमा काठमाडौँ र साउदीमा पनि रकम संकलन जारी छ ।
सोही क्रममा नवलपरासीमा पनि संकलन अभियान थालिएको सामी परियोजना कावासोतीले जनाएको छ । नवलपरासीमा अहिलेसम्म रु २१ हजार २०० संकलन भएको सामी मनोसमाजिक परामर्श कर्ता आप्रवासी कामदार हकहित संरक्षण मञ्चका सदस्य शुभ रानाले बताउनुभयो ।
१० मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको दक्षिणतर्फको गाउँबाट रु १३ हजार ९१० संकलन भएको छ । थानेश्वरलाई लाइसेन्स नभएको मुद्दामा जेल हालिएको हो । २०६८ साल असोज ६ गते साउदी गएका थानेश्वर २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।
उनले चलाएको टिपरमा एउटा सवारीसाधनले पछाडिबाट ठक्कर दिएपछि ठक्कर दिने सवारीसाधनमा रहेका र ठक्करबाट धकेलिएको टिपरले अगाडि ठक्कर दिने अर्को सवारीसाधनमा रहेका गरी दुई जनाको ज्यान गएको थियो ।
थानेश्वर दुर्घटनामा गम्भीर घाइते भएका थिए । दुर्घटना पछि करिब १० महिना जेल परेका उनी जेलबाट छुटेपछि घर आउन खोज्दा कम्पनीको साहुले घर आउन नदिई पुनः काममा लगाएको थानेश्वरका आमा यमकला भुसालले बताउनुभयो ।
पुनः काम गरेर घर फर्कने बेला साउदीको प्रहरीले उनलाई सोही मुद्दामा पुनः पक्राउ गरेको हो । उनी साढे तीन वर्षदेखि जेलमा रहेका छन् । (रासस)

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  १ : २६ बजे