१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यमपञ्चकका पाँच दिन, यस्तो छ महत्व



मायादेवी अनलाइन ।
नेपालमा हिन्दुहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिन कागको पूजा गरिन्छ । आफ्नो परिवारमा कसैको मृत्यु भएको छ भने उनीहरूको सम्झनामा कागलाई विभिन्न परिकार तथा मिठाई खुवाउने गरिन्छ । कागले राम्रा र नराम्रा सन्देशहरू प्रवाह गर्ने भएकाले यसलाई यमराजको दूतका रूपमा पूजा गरिन्छ ।
कुकुर तिहार
तिहारको दोस्रो दिनलाई कुकुर तिहार भनिन्छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ ।
लक्ष्मीपूजा
तिहारको तेस्रो दिनलाई लक्ष्मीपूजा भनिन्छ । यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ । यसै दिन साँझ लक्ष्मीपूजा गरिन्छ । घरआँगन सफासुग्घर राखिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यसै दिनदेखि भैलो खेल्न सुरु गरिन्छ । झ्यालढोकामा सयपत्रीको माला लगाएर घर सजिसजाउ पारे लक्ष्मी आउँछिन् भन्ने मान्यता छ ।
गोवद्र्धन पूजा
तिहारको चौथो दिनमा गोवद्र्धन पूजा अर्थात् गोरुको पूजा गरिन्छ । कृषि व्यवसायमा गोरुले र्पुयाएको योगदानको कदर गर्दै गोरुको पूजा गर्ने गरिएको हो । यसै दिन नेवारी समुदायले आफ्ना शरीरको पूजा अर्थात् म्हःपूजा गर्ने गर्छन् । यो दिन देउसी खेल्ने गरिन्छ ।
भाइटीका
तिहारको अन्तिम दिनलाई भाइटीका भनिन्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाई मखमली र सयपत्रीको माला लगाइदिन्छन् । दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने गर्छन् भने दिदीबहिनीले पनि मीठा परिकार खुवाउने गर्छन् ।
तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आआफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । हिजोआज कतिपयले भने रेडिमेड दियो र बत्ती बाल्ने क्रम पनि बढेको छ । तिहारको रमाइलोमा भुलेर आफ्नो सुरक्षाका बारेमा भने सोच्न बिर्सनु हुन्न नि । भाइबहिनीहरू, तिहारमा बत्ती बाल्दा वा पटाका पड्काउँदा धेरै नै होशियार हुनुपर्छ । त्यसैगरी टाढाटाढासम्म पुगेर राति अबेरसम्म देउसीभैलो खेल्न पनि हुँदैन । हिजोआज असुरक्षाका विभिन्न घटना सुनिने गरेकाले भाइबहिनीले पनि आफ्नो सुरक्षा आफंै गर्न सिक्नुपर्छ र अभिभावकको सल्लाह मानेर तिहार मनाउनुपर्छ ।
स्रोत -पत्रकार नितु घले

 

प्रकाशित मिति : ३ कार्तिक २०७४ शुक्रबार ००:००  १२ : १८ बजे