१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

काली गण्डकीमा आन्तरिक पर्यटक बढे



शिवलाल सुवेदी, गुल्मी १५ पुस ।
गुल्मी स्याङ्गजा र पर्वतको सगंमस्थलका रुपमा रहेको कालीगण्डकी नदीमा जल यातायात सञ्चालन शुरु भएपछि आन्तरिक पर्यटकहरुको सख्या बृद्धि भएको छ । ३ अञ्चलका ३ जिल्लालाई जोडेको कालीगण्डकी नदीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको हो ।
वर्षातको समयमा कालीगण्डकीको बहाव बढ्ने भएकाले स्टिमरको सेवा बन्द थियो । वर्षातमा बन्द भएको जलयात्रा पानीको बहाव घटेसँगै मसिंरको पहिलो सातादेखि सञ्चालन भएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी जल यातायात व्यवसायी समितिले स्टिमर सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो । स्टिमरमा जलयात्रा गर्न र विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन तथा धार्मिक आस्थाका रुपमा मानिसहरु यस क्षेत्रमा विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन् । केही समयका लागि रोकिएको जलयात्रा सञ्चालनमा आएपछि अहिले पछिल्लो समय शैक्षिक भ्रमणको गन्तव्य समेत बनेको ब्यवसायीहरु बताउछन । गुल्मी,पर्वत, स्याङ्जाको संगमस्थलमा पर्ने मिर्मी जलविद्युत् परियोजनाको बाँधले बनाएको तालमा स्थानीय व्यवसायीले काठको ढाँचामा ट्रकका इञ्जिन उपयोग गरेर बनाइएको स्टिमर सञ्चालन गर्दै आएका छन् ।
मिर्मिस्थित कालीगण्डकी ‘ए’ को बाँधदेखि गुल्मी ,पर्वत र स्याङ्जाको संगममा अवस्थित प्रसिद्ध धार्मिकस्थल सेतीवेणी बजारसम्म झण्डै ७ किमी दूरीमा कालीगण्डकीको पानीमाथि स्टिमर चल्ने गरेको छ । दुई ठूला पहाडको खोँचबाट सुस्त गतिमा बगेको कालीगण्डकीको पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने भएको गुल्मीको सदरमुकाम तम्घासवाट त्यहाँ पुगेका सारदा भण्डारीले बताईन । टेलिभिजनहरुमा पानीमाथी जहाँजमा मानिसहरु र सामान वोकेर हिडेको देखिएको थियो भण्डारीले भने‘अहिले त आफै पानीमाथी यात्रा गरेर आनन्द लिइयो । पछिल्ला तीन वर्षमा कालीगण्डकी करिडोर अन्तर्गतको हर्मिचौर–पूर्तिघाट सडक सञ्चालन भएपछि जलयात्रा गर्नेको संख्या घटेको भएपनि जलयात्राको आनन्द लिनका लागि आन्तरिक पर्यटकको संख्या भने थपिँदै गएको कालीगण्डकी जल यातायात (स्टिमर) व्यवसायी समितीले जनाएको छ ।
दैनिकजसो जिल्लाका विद्यार्थी भ्रमणमा आउने गरेका छन् । स्थानीय व्यवसायीको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो क्षेत्रमा स्टिमर सञ्चालनमा ल्याइएको हो । स्थानीय व्यवसायी प्रेम अर्यालले भने,‘गाडीबाट भन्दा स्टिमरबाटै ढुवानी र यात्रा सस्तो पर्ने भएकाले सडक विस्तार भएपछि पनि स्टिमर सेवा निरन्तर चलिरहेको छ ।’ गाडीमा प्रतिकिलो ३ रुपैयामा ढुवानी हुदै आएको छ भने स्टिमरका प्रतिकिलो भाडा १ रुपैया रहेकाले पनि यात्रुसगै मालसामान ढुवानी गर्नेहरुको पनि सख्या उत्तिकै रहेको छ । स्टिमरका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको छ । स्टिमर चलेपछि गुल्मीको हर्मिचौर, स्याङ्गजाको मिर्मि र पर्वतको सेतीवेणी बजारमा चहलपहल समेत बढेको छ । दैनिक ४ सयभन्दा बढी मानिसहरु कालीगण्डकीको मिर्मी बिद्यृत ड्याम स्टिमर यात्रा र सेतीवेणी शिला अवलोकन र भ्रमणका लागि आउने गरेका छन् । पछिल्लो समय भारतीय पर्यटक तथा तीर्थयात्री शालिग्राम शिलाको दर्शन गर्न आउने गरेका छन् । शिलामा एकादशी, माघेसङ्क्रान्ति, बालाचतुर्दशी, शिवरात्रिलगायतका पर्वमा विशेष पूजाआजा हुने हुँदा यहाँ वर्षेनी हजारौ धलालम्बीहरु आउने गर्छन् ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  ३ : ०८ बजे