दिपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले मंसिर ८ गतेबाट १६ गतेसम्म सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट आठ वडाका हजारौ नागरिकले निःशुल्क सेवा प्राप्त गरेका छन् । ८ दिनसम्म संचालन गरिएको शिविरबाट २ हजार ३ सय ५७ जनाले विभिन्न सेवा लिएका हुन् । सेवाबाट वञ्चित तथा विपन्न नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा पशुपंक्षी उपचार, बाली उपचार, पञ्जिकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण तथा स्वास्थ्य सम्बन्धी सेवाहरू प्रदान गरिएको थियो ।
शिविरको प्रारम्भ वडा नम्बर ३ बाट गरिएको थियो, जहाँ २ सय ३४ जनाले सेवा लिए । टाकु स्थित देराली मन्दिर प्रांगणमा भएको उक्त शिविरबाट ३१ सय २६ पशुचौपायालाई निःशुल्क औषधी वितरण गरिएको थियो भने २० जनालाई जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको हो । यस्तै वडा नम्बर १ को विरपुर कवडहलमा मंसिर ९ गते शिविर संचालन गरिएको थियो, जहाँ ३२६ स्थानीयले सेवा पाए ।
पशुपंक्षी तर्फ ४७३ गाई तथा ८०० बाख्रालाई निःशुल्क औषधि वितरण गरियो । बाली उपचारमा २८५ जनाले परामर्श लिए भने २३ जनालाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको थियो । वडा नम्बर ५ को प्रेमनगर बजारमा भएको शिविरबाट २९८ जना लाभान्वित भए । यहाँ १,३६५ बाख्रालाई औषधि वितरण तथा ११ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरियो । वडा नम्बर ६ को महुवा स्वास्थ्यचौकीमा सञ्चालन गरिएको शिविरबाट २३८ जनाले सेवा पाए । पशुपंक्षी उपचारतर्फ ८९८ बाख्रालाई निःशुल्क औषधि वितरण गरिएको थियो भने एक जनाले जेष्ठ नागरिक परिचयपत्र पाए ।
वडा नम्बर १० को झलवा तरकारी केन्द्रमा ३५२ जनाले सेवा लिएका छन् । यहाँ ७२३ बाख्रालाई औषधि वितरण तथा ३० जनालाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको थियो । वडा नम्बर ९ को बुद्धभूमि बहुमुखी क्याम्पसमा ३ सय ६ जनाले प्रत्यक्ष सेवा पाए भने १,२६३ बाख्रालाई औषधि वितरण गरियो । ८ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरे । वडा नम्बर ८ को वडा कार्यालय परिसरमा ३०१ स्थानीय लाभान्वित भए ।
१,३४२ बाख्रालाई निःशुल्क औषधि वितरण गरियो तथा २७ जनालाई जेष्ठ नागरिक परिचयपत्र प्रदान गरियो । शिविरको समापन वडा नम्बर ७ को मानपुर सेखुवा हाट बजारमा गरियो, जहाँ ३ सय २ स्थानीयले सेवा पाए । यहाँ १,६७७ बाख्रालाई औषधि वितरण गरियो र २१ जनाले जेष्ठ नागरिक परिचयपत्र पाए ।
वडाअध्यक्ष शालिकराम यादवको अध्यक्षता र सहायक प्रशासकीय अधिकृत केशव बेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष यादवले निःशुल्क शिविरले विशेषगरी सेवा पहुँच नपाएका तथा विपन्न नागरिकलाई राहत पुगेको बताउनुभयो । नगरप्रमुख केशव कुमार श्रेष्ठले स्थानीयको उत्साहपूर्ण सहभागिताले आगामी दिनमा पनि सेवा पहुँचविहीन क्षेत्रमा यस्ता शिविर नियमित सञ्चालन गरिने जानकारी दिनुभयो । नगरपालिकाले घर आगँनमै निःशुल्क सेवा प्रदान गरेकोमा स्थानीय खुसी भएका छन् ।







प्रतिक्रिया