२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

विकल्प खोज्दै कपिलवस्तुका उखु किसान



मायादेवी अनलाइन, चन्द्रौटा, २६ पुस ।
कपिलवस्तुका उखु कृषकहरुले बजारको विकल्प खोज्न थालेका छन् । पश्चिम नेपालकै ठूलो जवाभारी स्थित महालक्ष्मी सुर्गस मिल सर्लाही स्थानान्तरण गरिएपछि यहाँका कृषकहरु चिन्तित बन्दै आएका थिए । तयार भएको उखु विक्री गर्न बजारको समस्या भएपछि केहि कृषकले क्रशर उद्योगमा भेली बनाउन दिएका छन भने कतिपय आफैले क्रशर उद्योग स्थापना गरि भेली बनाउन थालेका छने । उखुले बजार नपाउने भएपछि कृषकहरुले वैकल्पिक उपायको खोजि थालेका थिए । कच्चा पदार्थको अभाव देखाउदै महालक्ष्मी सुगर मिल संचालकले सर्लाही स्थानान्तरण गरेपछि जिल्लाका कृषक मारमा परेका हुन् ।

मिल स्थानान्तरण पछि कपिलबस्तुका शिवराज नगरपालिका र कृष्णनगर नगरपालिका लगायतका क्षेत्रका उखु किसानहरुले सख्खर उत्पादन गर्न थालेका हुन् । खासगरि जिल्लाको पश्चिमी क्षेत्रमा उखु खेती गरिन्छ । शिवराज नगरपालिका जवाभारीका कृषक गोबिन्द कुर्मी उखु बिक्रि नभएकोमा चिन्ता ब्यक्त गर्छन् । उनले झण्डै ५ हजार हेक्टरमा लगाएको उखु अहिले बारीमै रहेको बताउछन् । लामो समयसम्म उखु बारीमै रहेकोले अव सस्तोमै भलेी बनाउने उद्योगलाई उखु बेच्ने योजना रहेको उहाले जानकारी दिनुभयो । यस्तै कृष्णनगर नगरपालिका गणेशपुरका कृषक सुनिल कुमार चौधरीले पनि उखुबाट आफुले अव सख्ख्र बनाउने तिर लाग्ने बताउनुभयो ।

जिल्लामा चिनी मिल संचालनमा आउने आसामा उखु खेती गरेका किसानहरु यस बर्षदेखि बैकल्पिक उपाय अंगाल्न बाध्य बनेका हुन् । सिंचाइ सुविधा नभएको जिल्लाको पश्चिमी क्षेत्रमा बढि मात्रामा उखु खेती गरिने गरिन्छ । उखु खेतीबाटै बर्षेनी जिविकोपार्जन गर्दै आएका कृषकहरु मिल बिस्थापित भएपछि समस्यामा परेको नेपाल किसान संघ कपिलबस्तुुका अध्यक्ष अनुप कुमार चौधरीले बताए । कतिपय किसानले सस्तोमा उखु क्रसिङ गर्ने उद्योगमा बेच्न सुरु गरेको चौधरीले बताए । चिनी मिल स्थानान्तरण भएसंगै सख्खर (भेली) उद्योगहरु भने फस्टाएका छन् । यहा“ संचालित झण्डै डेढसय बढि क्रसिङ उद्योग छन् । जिल्लामा उत्पादित उखुहरु अहिले कतिपयले सख्खर उद्योगमा परिचालन गरेका छन् भने कतिपयले नवलपरासीको लुम्बिनी सुगर मिललाई बिक्रि गरिएको किसानहरु बताउ“छन् ।

सुख्खाग्रस्त क्षेत्रका कारण जिल्लामा उखुखेती खासै राम्रो नभएको र भारतीय उखुमा भर पर्दा पनि बर्षेनी घाटा व्यहोर्नुपरेकाले मिल स्थानान्तरण गर्नुपरेको प्रबन्ध निर्देशक वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए । मिलको क्रसिङ क्षमता दैनिक २५ हजार क्विन्टल भए पनि भारतीय उखुलाई प्राथमिकता दिँदासमेत क्रसिङ क्षमताजति उखु र्पुयाउन नसकिएको मिल प्रशासनले जनाएको छ ।

पर्याप्त मात्रामा कच्चा पदार्थ नहुँदा २१ वर्षको अवधिमा १५ प्रतिशतदेखि ६० प्रतिशत क्षमतामा मिल चलाउन बाध्य भएको प्रशासनले बताएको छ । मिलको दैनिक क्रसिङ क्षमता २५ हजार क्विन्टल भए पनि क्षमताअनुसारको कच्चा पदार्थ नहुँदा यो वर्ष १२ हजार क्विन्टल मात्र क्रसिङ भएको मिल प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ११ : ३६ बजे