२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

आईपीएल : मुम्बई पराजित, दिल्लीको शानदार जित



मायादेवी अनलाइन, भारत ।
आईपिएलको महत्वपूर्ण खेल अन्तरगत दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियनसँगको खेलमा ७ विकेटले शानदार जित हात पारेको छ ।

मुम्बईले दिएको १९५ रनको उच्च विजयी लक्ष्य दिल्लीले अन्तिम बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि ११ रनको आवश्यकता थियो । अन्तिम ओभर मुम्बईका लागि मुस्ताफिजुर रहमान बलिङ गर्न आए । पहिलो बलमा जेसोन रोयले चौका हाने । दोस्रो बलमा उनले छक्का हाने । दिल्लीलाई जितका लागि ४ बलमा मात्रै एक रन चाहिएको थियो । तर रहमानले लगातार तीन डट फाले । दिल्लीको बढेको ढुकढुकीलाई रोयले अन्तिम बलमा एक रन लिएर शान्त पारे ।

दिल्लीको जितका लागि जेसोन रोय नायक बने । उनले नटआउट रहँदै ५३ बलमा ६ चौका र ६ छक्कासहित ९१ रनको योगदान दिए ।

दिल्लीका लागि ऋषभ पन्तले २५ बलमा ६ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कप्तान गौतम गम्भीरले आजको खेलमा १६ रन मात्र बनाए । त्यस्तै ग्लेन म्याक्सवेल १३ रनमा आउट भए । श्रेयस अय्यरले नटआउट रहँदै २७ रन बनाए ।

मुम्बईका लागि क्रुनाल पंड्याले २ तथा मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले दिल्लीलाई १९५ रनको उच्च विजयी लक्ष्य प्रस्तुत गरेको थियो । मुम्बईले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै यो योगफल तयार पारेको हो । ओपनर ब्याट्सम्यानहरु सूर्यकुमार यादव र इविन लेविसले मुम्बईको लागि महत्वपूर्ण आधार तयार पारेका थिए ।

यादवले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ७ चौका र एक छक्का सहित ५३ रन बनाए । त्यस्तै अर्का ओपनर इविन लेविसले २८ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए ।

त्यस्तै इशान सकशनले ४४, कप्तान रोहित शर्माले १८, क्रुनाल पंड्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका लागि ट्रेन्ट बोल्ट, राहुल तेवतिया तथा ड्यानियल क्रिस्टियनले समान २–२ विकेट लिँदा मोहम्मद शमीले एक विकेट लिए ।

शनिबारको जितसँगै दिल्लीले पहिलो जित हात पारेको छ भने मुम्बईले लगातार तीन खेल हारेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७५ आइतबार ००:००  १२ : २० बजे