मायादेवी अनलाइन, तौलिहवा ।
केही बर्ष अघि सम्म भारतीय माछामा परनिर्भर रहेको कपिलवस्तु अहिले माछापालनको हबको रुपमा विकसित हुँदै गएको छ । कृषकहरु माछापालनमा लागे पछि बिस्तारै जिल्ला माछामा आत्मनिर्भर उन्मुख बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा सात सय हेक्टर माछा पोखरीको क्षेत्र समेत बिस्तार भएको छ । माछाको माग बढेसंगै राम्रो आम्दानी आउन थाले पछि ब्यवसायिक माछा पालन गर्ने कृषकको संख्या पनि बढ्दै गएको छ । यससंगै भारतीय माछामा परनिर्भर जिल्लामा केही बर्ष यता बर्षेनी आयात समेत घट्दै गएको कृषि कार्यालयले जनाएको छ । ५ बर्ष अघि ८० प्रतिशत माछाको बजार रहेको जिल्लामा अहिले ३० प्रतिशतमा झरेको छ । बर्षेनी १५ देखि २० प्रतिशत सम्म आयात प्रतिस्थापन घटेको माछापालक कृषकहरु बताउँछन् ।
जिल्लामा उत्पादित माछाले यहाँको ४५ प्रतिशत मात्र माग पुरा गरेको छ । २० प्रतिशतको हाराहारीमा अन्य छिमेकी जिल्लाबाट आउने गरेको छ । ‘बर्षेनी माछा पालन गर्ने किसानको संख्यामा बृद्धि गएकोले बढीमा २ बर्ष भित्रै ती जिल्ला कै हाराहारीमा पुग्छौ’ कृषि कार्यालयका प्रमुख राकेश कुमार ओझाले भने । तीन बर्ष अघि सम्म ४ सय हेक्टरमा माछा पाल्ने गरिएकोमा अहिले बढेर ७ सय बढी हेक्टर पुगेको छ । ‘ तीन बर्ष अघि सम्म नौ सय मेट्रिक टन माछा उत्पादन हुन्थ्यो, अहिले बढेर १२ सय मेट्रिक टन पुगेको छ ’ ओझाले भने । जिल्लामा २४ करोड बढीको माछा उत्पादन हुने गरेको छ । ‘भारत र अन्य जिल्लाबाट आउने आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ अघि बढेका छौ, हामी केही बर्ष मै माछा उत्पादनमा आत्मानिर्भर बन्छौ ’ उनले भने । यो बर्ष थप सय हेक्टर क्षेत्रमा माछापालन बढ्ने अनुमान गरिएको छ । कृषि कार्यालयले रेकर्ड नराखेको कतिपय ठाउँमा समेत माछा पालन गरिएको छ । बिशेष गरी युवाहरु अहिले माछापालनमा बढी आकर्षित भएका हुन ।
यहाँ सिल्भर, ग्रास, नैनी, कामन, रोहुँ, मांगुर लगायतका माछा बढी उत्पादन हुने गरेका छन् । तीन बर्ष अघि सम्म क्षेत्र र बिभागबाट अनुगमनमा आउँदा कृषि कार्यालयका कर्मचारीहरु अलमलमा पर्थे अहिले भने ब्यवसायिक माछापालन पर्ने कृषकको संख्या बढे पछि धेरै सजिलो भएको ओझाले बताए । गत बर्ष मात्र ६६ कृषकले नयाँ पोखरी बनाएका छन । ६ कठ्ठा देखि ३ बिघा सम्म पोखरी बनाएका हुन । यस बर्ष पनि ४० कृषकले माछापालनको तयारी गरेको कृषि कार्यालयले जनाएको छ ।
जिल्लाका गाउँगाउँमा प्राकृतिक जलाशय रहेको र धेरै पुराना ईटा भट्टा बन्द रहेकाले र त्यसमा पोखरी पनि खन्न नपर्ने भएकाले कम लगानीमा माछापालन गर्न सकिएकाले पनि त्यस तर्फ आकषर्ण बढेको हो । जग्गा भाडामा लिएर पोखरी निर्माण गरी माछा पाल्ने कृषकहरु समेत बढ्दै गएका छन् । धान र गहुँ भन्दा २ सय प्रतिशत बढी नाफा हुने र जोखिम समेत कम भएकाले कृषकहरु माछापालनमा लागेको कृषि कर्मचारी बताउँछन । जिल्लामा ब्यवसायिक रुपमा माछापालन गर्ने कृषकको संख्या ६ सय बढी रहेको छ । त्यस मध्ये सय बढी महिलाहरु छन् । माछापालन गर्नेको संख्या बढे संगै त्यस बारेमा कार्यालयमा बु्भ्mन आउने कृषकको संख्या समेत बढेको छ । माछापालन फस्टाउँदै गए पछि बाणगंगा नगरपालिकामा ६ करोड बढी लागतको माछाको दाना उत्पादन गर्ने उद्योग समेत संचालनमा आएको छ ।
२१ जेष्ठ २०७५ सोमबार ००:००
0
Shares






प्रतिक्रिया