२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नेदरल्याण्ड्स विरुद्ध नेपालको बदला, अन्तिम दुई बलमा कप्तान चम्किए



एजेन्सी ।
एक दिवसीय खेलको डेब्यु म्याचमा पराजित भएको नेपालले नेदरल्याण्ड्स विरुद्धको दोस्रो एक दिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ । नेदरल्याण्ड्सको घरेलु मैदानमा भएको खेलमा कप्तान पारस खड्का नायक बने । अन्तिम अवस्थामा एक बलमा दुई चाहिएको अवस्थामा कप्तान खड्काले विकेट लिएपछि नेपालले नेदरल्यान्ड्स विरुद्ध पहिलो हारको बदला लिन समेत सफल भएको छ । पहिलो खेलमा चार विकेट लिएका कप्तान खड्काको आजको विकेट संगै अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा ५ विकेट लिन सफल रहे ।

नेपालको आजको जित संगै श्रङ्खला एक एकको बराबरीमा सकिएको छ । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले २१६ रन बनाएको थियो । जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड सबै १० विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो ।

एक विकेट बाँकी रहेको अवस्थामा अन्तिम ओभरको अन्तिम बलमा नेदरल्यान्ड्सलाई २ रन चाहिएको थियो । त्यस्तोमा नेपाललाई अनिवार्य विकेट या रन नदिने मात्रै विकल्प थियो । तर, अन्तिम ओभरमा बलिङमा आएका कप्तान पारसले अन्तिम बलमा नेदरल्यान्ड्सको १० औँ विकेटका रूपमा एफजे क्लासेनलाई रनआउट गर्न सफल भएपछि नेपालले एक रनको रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्डसलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । त्यसैगरी आठ ओभर बलिङ गरेका ललित भण्डारीले २ र ९ ओभर बलिङ गरेका सोमपाल कामीले १ विकेट लिए ।
नेपालका जितमा ब्याटिङतर्फ सोमपाल कामी र कप्तान पारस खड्काले प्रभावशाली प्रदर्शन गरे । सोमपालले ६१ रनको शानदार पारी खेल्दा कप्तान पारसले पनि ५१ रनको अर्धशतकीय पारी खेलेर नेपाललाई मजबुत अवस्थामा पुर्याएका थिए ।

यसअघि सुरुवाती ब्याट्सम्यान असफल हुँदा मध्यम र अन्तिम क्रममा आएकाले नेपालको स्कोर २ सय माथि पुर्याएका थिए । मध्यम गतिका बलर सोमपाल कामीले नेपाली पारीलाई उकास्ने काम गरे । आठौं क्रममा ब्याटिङका लागि मैदानमा छिरेका सोमपालले ४६ बलमै ६१ रनको अर्धशतकीय योगदान गर्दा नेपाल सम्मानजनक योगफलमा पुगेको थियो । यसक्रममा सोमपालले तीन छक्का र पाँच चौका प्रहार गरेका थिए ।

उनीबाहेक कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए । पारसले आफ्नो पालिमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । त्यसअघि सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १३ तथा सुवास खकुरेलले १९ रन जोडेका थिए ।

तेस्रो क्रममा आएका अनिल शाह चार रनमै आउट हुँदा दीपेन्द्रसिंह ऐरीले १९ तथा आरिफ सेखले १६ रन जोडे । अन्य खेलाडीले भने दोहोरो संख्यामा रन जोड्न सकेनन् । रोहितकुमार पौडेल ६, वसन्त रेग्मी एक तथा सन्दीप लामिछाने आठ रनमा आउट हुँदा ललित भण्डारी चार रनमा अविजित रहे ।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  ५ : २५ बजे