९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

बालीघरे प्रथामा राप्ती नदी वारपार, स्थानीयलाई किन यस्तो सास्ती ?



दाङ ।
कपडा सिलाइ तथा फलामको भाँडा बनाए बापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो प्रथा विशेष गरेर दाङको देउखुरी क्षेत्रमा नदी वारपार गराएबापत स्थानीय बोटे समुदायका मानिसलाई बाली बुझाउने गरिन्छ ।
देउखुरी क्षेत्रमा पर्ने राप्ती नदीमा पर्याप्त पुलपुलेसा नभएका कारण ठाउँठाउँमा स्थानीयवासीले यो बालीघरे प्रथा चलाएका हुन् । नदी वारपार गराएबापत मौसमअनुसारको धान, मकैँ, गहुँ, जौ आदि दिने गरेको सतबरियाकी सीता चौधरीले बताउनुभयो ।
पचपन्न वर्षीय चौधरीले २६ वर्षदेखि सोही पेशा गर्दै आउनुभएको छ । उहाँले त्यहाँ दुई कोठका डुङ्गा राखेर नदीमा बाढी आएको बेला ठूलो र पानी कम भएको बेला सानो डुङ्गा चलाउने गरेको बताउनुभयो । त्यस घाटबाट सतबरिया, रिहार पैते, गङ्गदी, सालभौरीलगायतका गाउँलेलाई नदी वारपार गराउने गरेको जानकारी दिनुभयो ।
सो काम गरेबापत परिवारको सङ्ख्या हेरी मौसमअनुसारको अन्न पाथीदेखि मुरीसम्म लिने गरेको छु”, उहाँले भन्नुभयो । रिहार र पैतेका अधिकांश मानिसको खेतीपाती सबै नदीपारि नै रहेको र वर्षायाममा निकै सास्ती हुने गरेको रिहारकी कमला चौधरीले बताउनुभयो ।
उहाँंका अनुसार स्थानीय बोटेले नदी वारपार गराएबापत परिवारको सङ्ख्याको आधारमा बाली लिने गरेका छन् । त्यसैगरी बाहिरका गाउँबाट आउने मानिसलाई भने नदी वारपार गरेवापत प्रतिव्यक्ति रु १० लिने गरेको छु, बोटे शिव चौधरीले भन्नुभयो । सो घाटबाट दैनिक आधा दर्जन गाउँका दुई÷तीन हजार मानिस नदी वारपार गर्दछन् । राप्ती नदीमा अधिकांश ठाउँमा पुल नहँुदा स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७५ शनिबार ००:००  २ : ४७ बजे